सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सभाबाट पारित

  जेठ ३०, २०७८

धनगढी, जेठ ३० : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।  आइतबार बसेको प्रदेश सभा बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गरेको हो ।

गत बिहिबार प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई प्रदेश सभामा प्रस्तुत गर्नु भएको थियो ।  स्वास्थ्य, पूर्वाधार निर्माण, उद्योग लगायतलाई नीति तथा कार्यक्रममा मुख्य प्राथमिकता दिइएको छ । सभामा गहन ढङ्गले छलफल गरेर नीति तथा कार्यक्रम पारित गरिएको हो ।  

यसअघि नीति तथा कार्यक्रममा छलफल गर्नु हुँदै प्रदेश सभा सदस्यहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्ण रुपमा कार्यन्वयन हुनु पर्ने र बजेटमा समेटिनु पर्नेमा जोड दिनुभयो ।  नेकपा एमालेका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बुदागत हिसाबले नीति तथा कार्यक्रम धेरै राम्रो रहेको बताउनुभयो । “यसलाई बजेटमा समेटेर कार्यन्वयन गर्नु पर्दछ”, उहाँले भन्नुभयो ।  

यस्तै नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिलेको परिस्थिति अनुसार समग्रमा धेरै कुरा नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । “कोरोना महामारीले समग्र क्षेत्रमा गम्भीर असर पारेको बेला गम्भीर खालको नीति तथा कार्यक्रम आएको छ”, उहाँले भन्नुभयो । “राष्ट्रिय गौरवका योजना, रोजगारी र रोग कम गर्ने योजनाहरु बजेटमा कसरी समेटिन्छन त्यो भने हेर्न बाकी छ ।” 

 यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक अक्कलबहादुर रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा समेटिएका कुरा र केहि प्रदेश सभा सदस्यहरुका कुरा पनि आगामी बजेटमा समेटिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  नीति तथा कार्यक्रममा पूर्वमन्त्री कृष्णराज सुवेदी, प्रदेश सभा सदस्य वीरमान चौधरी, कर्णबहादुर मल्ल, प्रकाशबहादुर रावल, शान्ती नेपाली, तारा लामा तामाङ लगायतकाले आफ्नो राय, सुझाव दिनु भएको थियो ।  

प्रदेश सभामा नीति तथा कार्यक्रममाथि उठेको विषयमा जवाफ दिनुहुँदै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा सकारात्मक सुझाव आएको उल्लेख गर्दै ती सुझावहरुलाई समेटेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गर्नुभयो ।  

तपाईको प्रतिक्रिया