गण्डकीका मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीद्वारा सपथ

  जेठ २९, २०७८

पोखरा जेठ २९ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । प्रदेश प्रमुख पौडेलले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मका लागि बहुमत प्राप्त गर्ने आधार सहित मुख्यमन्त्रीमा दावी गर्न आव्हान गर्नुभएकोमा विपक्षी गठबन्धनका तर्फबाट पोखरेलको मात्र दावी प्राप्त भएको थियो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुखबाट आव्हान भए लगत्तै शुक्रबारनै प्रदेश प्रमुखको कार्यालयमा पुगी दावी पेश गरिएकोमा शनिबार प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएको थियो ।

यस अगाडि १६८ (२) अनुसार सरकार गठनका लागि आव्हान हुँदा पोखरेल नेतृत्वमा सरकार गठनको तयारी गरिएपनि बहुमत नपुगेका कारण सफल भएको थिएन ।

तपाईको प्रतिक्रिया