वाग्मती प्रदेशसभा सदस्य वैद्यद्वारा आत्मालोचनासहित अभिव्यक्ति फिर्ता

  जेठ २९, २०७८

मकवानपुर, जेठ २९ : वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । प्रदेश सभाको आजको बैठक शुरु भएलगत्तै सभामुखसँग समय मागेर उहाँले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिनुभएको हो ।

आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं शुक्रबारको बैठकमा कांग्रेसका सदस्य वैद्यले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । चौतर्फी विरोधपश्चात् शनिबारको बैठकमा उहाँले पार्टीको निर्देशनानुसार आत्मालोचना गर्नुभएको हो । उहाँकै पार्टी नेपाली कांग्रेसले पनि अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।

“मैले सभाको रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाइ फिर्ता लिन्छु”, उहाँले भन्नुभयो । सदस्य वैद्यले आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको बताउनुभयो ।

आफूले नेपालको संविधान, गणतान्त्रिक व्यवस्था र संसदीय मर्यादालाई आत्मसात गरी अघि बढ्ने दृढता व्यक्त गर्नुहुँदै उहाँले आफूले उत्तेजनात्मक अवस्थामा प्रस्तुत भई उक्त अभिव्यक्ति दिएकोमा सबै नेपालीप्रति क्षमायाचना गर्दै फिर्ता लिन्छु भन्नुभयो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सदस्य वैद्यले हिजो व्यक्त गर्नुभएको अमर्यादित अभिव्यक्तिलाई आत्मालोचना गर्दै प्रदेशसभाको बैठकमा फिर्ता लिन निर्देशन दिइएको थियो । सदस्य वैद्यले राख्नुभएको अभिव्यक्तिलाई विभिन्न राजनीति दल, बुद्धिजिवीलगायत सर्वसाधारणले निन्दा व्यक्त गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थिए । उहाँले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति सभाको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया