‘जडीबुटी मात्रा मिलाएर खाऔँ, स्वस्थ रहौं’

  जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ ।

गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताउनुभयो ।

भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उहाँको भनाई थियो ।
मानिसको दैनन्दिनी, के खाने ? के नखाने ? जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ ।

कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउनुहुँदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने सुनाउनुभयो ।

गर्मी बढेको अहिलेको समयमा सुठो, मरिच, पिप्ला मिसाएर मुखमा राखे घाँटीको खसखस ठिक गर्ने, ज्वानु, मरिच राखेर वाफ लियो भने नाक र घाँटीमा रहेका कीटाणुलाई निकाल्न सकिने उपचार विधि छ । कागती र फलफूलले शरीरलाई शुद्ध गर्न काम गर्ने भएकाले यसको पनि नियमित सेवन गरिनुपर्ने सल्लाह उहाँले दिनुभएको छ ।

मूला, फर्सीको बीउ, आलस, मधिशे बदाम, काजुजस्ता चीजबीजको प्रयोगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । दैनिक एक चम्चा घिउले पनि एण्टी अक्सिडेण्टका रुपमा काम गर्ने भएकाले सेवन गर्न हुने सल्लाह चिकित्सकको छ । महामारीको यो बेलामा गेडागुडीका परिकार धेरै खान सुझाव दिइएको छ ।

तुलसी, बाबरी, घोडटाप्रे, रुधिलोजस्ता जडिबुटीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । पखाला लाग्दा ज्वानु र मरिचपानीमा उमालेर जीवनजल राखी खान सकिने चिकित्सक कोइरालाले बताउनुभयो । समाजका उपाध्यक्ष महेश पराजुलीले महामारीका बेला अन्तरक्रिया नियमित रुपमा गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया