नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने

  जेठ २०, २०७८

काठमाडौं, जेठ २० : अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ । सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ ।

दुईवटा मिसन
शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ ।
ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन् । नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो । त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन् ।

सीसा पनि पग्लने सतह
नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ ।

“यी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्नेछन्,” प्रशासक नेल्सनले बताए ।

सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो । त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ ।

मिसनका विशेषता
डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ । उसले शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ ।

दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ ।

रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया