बाँकेमा संक्रमण दर घट्यो, निषेधाज्ञामा छुट गर्न माग

  जेठ १९, २०७८

नेपालगञ्ज, जेठ १९ : एक महिनाअघि कोरोना हटस्पट बनेको बाँके जिल्ला विस्तारै संक्रमण शुन्य हुने क्रमतिर बढ्दै गएको छ । एकैदिनमा ७ सयसम्म संक्रमति फेला परेको जिल्लामा अहिले संक्रमण घटेर दैनिक दुई अंकमा झरेको छ । गत केही दिनयता सय भन्दा पनि कम संक्रमित थपिन थालेको र मृत्यु हुनेहरुको पनि संख्या घट्दै गएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना सहजकर्ता तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कुनै बेला संक्रमण नियन्त्रण बाहिर गएर जनमानसमा भयावह त्रास र आतंक सृजना भएपनि सबैको सामुहिक प्रयासले अहिले संक्रमण दुई अंकमा झरेको बताउनुभयो । उहाँले बाँकेका ३ वटा प्रयोगशालामा गरिएको ३१० नमुना परीक्षणको मंगलबार साँझ आएको नतिजामा बाँकेका २५ जना मात्रै संक्रमित फेला परेको बताउनुभयो ।

उहाँले सोमवार पनि बाँकेमा ५१ जना मात्रै संक्रमित फेला परेको जनाउँदै संक्रमण तिव्र गतिमा ओरालो लाग्ने क्रममा रहेको बताउनुभयो ।
सोही कारणले बुधवार विहानसम्म जिल्लाका विभिन्न अस्पतालमा ८६ वटा कोभिड बेड खाली रहेको पनि सहजकर्ता श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका विभिन्न चारवटा अस्पतालमा अझै २६१ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । २६१ बिरामी मध्ये ११५ जना सिकिस्त रहेको अस्पतालहरुले जनाएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा ३८ जना सिकिस्त संक्रमित रहेका छन भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ७३ जना, वेस्टर्न अस्पताल नेपालगञ्जमा ४ जना सिकिस्त संक्रमतिको उपचार भईरहेको छ । अस्पतालहरुमा रहेका २६१ जना बिरामीमध्ये, १०६ जना बाँके जिल्लाका वासिन्दा रहको र १५५ जना बाहिरी जिल्लाका बिरामी भएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

संक्रमण दर घट्दै गएर दुई अंकमा पुगेपछि जारी एक महिना १० दिनदेखि जारी निषेधाज्ञा हटाउन वा लामो छुट दिन स्थानीयले माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले संक्रमति भेटिने क्रम निकै कम भएकोले अब स्वास्थ्य मापदण्ड र भौतिक दुरीमा कडाई गर्दै निषेधाज्ञा हटाउनु पर्ने माग गर्नुभयो । उहाँले यति लामो समयको निषेधाज्ञाले गर्दा निम्न र मधयमवर्गका स्थानीय समस्यामा परेको बताउनुभयो । उता, प्रमुख जिल्ला अधिकारीले जेठ २४ गतेपछि सो बारेमा विचार गर्न सकिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया