अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण

  जेठ १७, २०७८

बेइजिङ, जेठ १६ : चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ ।

लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ ।

रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो । चिनियाँ सरकारी समाचार संस्थाहरूका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ । अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो ।

चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपण मार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइने छ । नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ । यी प्रक्षेपण मार्फत बन्दोबस्तीका सामानका साथै तीन जना अन्तरिक्ष यात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ ।

चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो । चीनले आफ्नो महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रूपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेशन हो । बेइजिङले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहभागी भइरहेको छैन, र यसको मुख्य कारण अमेरिकी अवरोध हो ।

तपाईको प्रतिक्रिया