मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत

  जेठ ०४, २०७८

काठमाडौँ, जेठ ४ : एक महिना अघिदेखि राजधानीमा मेलम्चीको खानेपानी वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ । भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ ।

पुरानै पाइप लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट वितरण गर्न परीक्षण भइरहेकोे छ । राजधानीको बल्खु, कोटेश्वर, सहयोगीनगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी पाइने आशा सपनामै सीमित भएको छ । मेलम्ची आउनासाथ पुरानो पाइप लाइनबाट वितरण गरिए पनि परीक्षणपछि नयाँ पाइप लाइनबाट पनि वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

भक्तपुर कटुञ्जेको पानीपोखरीबाहेक अन्य सबै वितरण केन्द्रबाट मेलम्चीको पानी वितरण भइरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार महाराजगञ्ज, बालाजु, खुमलटार, आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरीबाट पानी वितरण भइरहेको छ । कटुञ्जेको पानीपोखरी निर्माण सम्पन्न भइसकेको छैन ।

चक्रपथभित्र पुरानो पाइप लाइनबाट सबै स्थानमा पानी वितरण भइरहेको शाक्यको भनाइ छ । उहाँले भन्नुभयो, “पुरानो पाइप लाइनबाट नयाँ तालिका बनाएर वितरण भइरहेको छ, पानी आउने तालिका सम्बन्धित क्षेत्रको वितरण केन्द्रको फेसबुक पेजबाट हेर्न सक्नुहुन्छ, जस्तो महाराजगञ्ज वितरण केन्द्रका लागि केयूकेएल महाराजगञ्ज ब्रान्च फेसबुक पेजमा गएर तालिका हेर्न सकिन्छ ।”

तर चक्रपथभित्रका केही स्थानमा भने नयाँ पाइप लाइनबाट पठाउनुपर्ने भएकाले वितरण नभएको शाक्यले बताउनुभयो । कोटेश्वरलगायतका क्षेत्रमा नयाँ पाइप लाइनबाट वितरण गरिने भएकाले परीक्षणकै चरणमा रहेको शाक्यले जानकारी दिनुभयो । स्थानीय उपभोक्ता भने अझै पानी वितरण हुन नसकेकोप्रति आक्रोश व्यक्त गर्न थालेका छन् ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आएपछि वितरणमा निकै सहज भएको चर्चा गर्दै शाक्यले भन्नुभयो, “पानी वितरणमा पर्याप्त सुधार भएको छ, अहिले चुहावट एकदमै न्यून छ नयाँ पाइप लाइनबाट वितरण सुरु भएपछि
चुहावट हँुदैन । ”

सम्पन्न हुदैँ हेडवक्र्स
मेलम्ची खोलामा निर्माणाधीन हेडवक्र्स अन्तिम चरणमा पुगेको छ । निर्माणको काम करिब सम्पन्न भएको तर त्यसमा गेटलगायतका पार्ट्स जडानको काम बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । हेडवक्र्स निर्माणमा ढिलाइ भएपछि अहिले अस्थायी डाइभर्सनबाट पानी ल्याइएको हो । उहाँका अनुसार गेटका पाटर््स, सपोर्ट सिस्टम, अटोमेटिक क्लिनिङ मेसिन जडान गर्नुपर्छ । सपोर्ट सामान जापान तथा भारतबाट ल्याइँदै छ ।

पन्तले भन्नुभयो, “केही सामान आउँदैछन्, कोरोनाको बन्दाबन्दीले पनि प्रभाव पारेको छ, सामान आएपछि फिटिङ हुन्छ, अरू निर्माणको काम सकिएको छ । ” मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको सुरुङलगायतका भौतिक संरचना निर्माणका लागि ३१ अर्ब ५० करोड रुपियाँ लगानी भएको छ । यसको मुख्य लगानीकर्ता एसियाली विकास बैङ्क रहेको छ ।

दोस्रो परियोजना सुरु हुँदै
दोस्रो परियोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि उपत्यकामा दैनिक ५१ करोेड लिटर पानी आउने छ । मेलम्ची खोलाको १७, लोर्के खोलाको १७ र याङ्ग्री खोलाको १७ गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याएपछि उपत्यकावासीको घरमा दैनिक छ घण्टा पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप नौ किमि सुरुङ खन्नुपर्ने हुन्छ ।

दोस्रो परियोजनाको अध्ययन तथा मुआब्जा बाँड्ने काम भइसकेको छ तर मुख्य लगानीकर्ताको पहिचान भइनसकेको समितिले जनाएको छ । समितिका अनुसार दोस्रो आयोजनाका लागि अध्ययन भइसकेको छ भने मुआब्जालगायतका काम पनि भएका छन् । सम्झौता भएको तीन वर्षमा काम सकिन्छ । यसको लागत २६ अर्ब रुपियाँ अनुमान गरिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया