शङ्ख फुक्दा बढ्छ फोक्सोको क्षमता

  जेठ ०४, २०७८

काठमाडौँ, जेठ ४ : शरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी हुने परम्परागत भनाइ छ । यसमा आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने चिकित्सकको सुझाव छ ।

बाँसबारी अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. गोपालरमण शर्माका अनुसार श्वासप्रश्वास र स्नायु तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी छ । उहाँले शङ्खनादले फोक्सोका स्नायुलाई स्वस्थ रहन सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार स्वस्थ मानिसले शङ्ख फुक्दा फोक्सोको अभ्यास हुन्छ तर बिरामीले भने यो अभ्यास गर्नुहुन्न ।

प्राण वायु लिने फोक्सो स्वस्थ रह्यो भने श्वासप्रश्वाससम्बन्धी रोगले चाँडो समाउन सक्दैन । चिकित्सकका अनुसार विगत डेढ वर्षदेखि नेपाललगायत विश्वलाई नै आक्रान्त बनाएको कोरोना (कोभिड– १९) श्वासप्रश्वाससम्बन्धी रोग हो । फोक्सोको क्षमता कमजोर भएकालाई कोरोनाले चाँडो आक्रमण गर्छ ।

बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीले पनि शङ्खनाद स्वास्थ्यका लागि निकै लाभदायक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “शङ्ख फुक्दा रोग प्रतिरोधात्मक शक्ति, मानसिक स्फूर्ति, स्नायुको तन्दुरुस्ती र फोक्सोको कसरत हुन्छ । शरीरमा भएका विकार हटाउने र फोक्साका अक्सिजन थैलीलाई अक्सिजनयुक्त राख्न शङ्ख बजाउनु निकै लाभदायक छ ।”

उहाँको सुझाव छ, “शङ्ख फुक्ने अभ्यासले फोक्सोको प्राण वायु लिने क्षमता बढाउन सकिन्छ तर श्वासप्रश्वासका बिरामीले यस्तो अभ्यास गर्न हुन्न । ” आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा. पदमराज भारतीले आफूले शङ्ख बजाउन सुझाव दिइरहेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका मन्दिर प्रशासन हेर्ने पूर्वप्रमुख कमलबहादुर बोगटीले शङ्खनादको ध्वनिको तरङ्गले वातावरणसमेत स्वच्छ राख्ने विश्वासका साथ पशुपतिनाथमा नित्य शङ्खनाद हुने गरेको बताउनुभयो । उहाँका अनुसार वासुकीमा शङ्खनाद हुँदा सुन्न आउने भक्त निकै थिए ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले शङ्खनाद ध्वनिले मानव मस्तिष्क, स्वास्थ्य, स्नायु, स्मृति ताजा बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक दिन एक समय घर–घर र मन्दिर–मन्दिरमा यत्रतत्र शङ्खध्वनि गुञ्जन हुनैपर्छ र यो संस्कृतिको संरक्षण पनि हुनुपर्छ ।”

यस्तै सोमसरला वेदविद्याश्रम गौरीघाटका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीले योगसँगै शङ्खनादले शरीर र स्वास्थ्यलाई लाभ पुग्ने बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया