उपत्यकामा एकैदिन तीन हजार ९८ संक्रमित थपिए, ७९ को मृत्यु

  जेठ ०४, २०७८

काठमाडौं, जेठ ३ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसबाट एकैदिन ७९ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७९ सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५१, ललितपुर र भक्तपुरमा समान १४ जना सङ्क्रमितको मृत्यु भएको हो । देशभरि सोमबार कोरोना सङ्क्रमणबाट २१४ जनाको मृत्यु भएको छ । काठमाडौंमा हालसम्म एक हजार १८९, ललितपुरमा ३१८ र भक्तपुरमा २३५ जना सङ्क्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ९८ जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा थपिएको सङ्ख्या आइतबारको अपेक्षा बढेको छ । काठमाडौंमा दुई हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन् ।

कठमाडौंमा हाल २८ हजार ५२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ललितपुरमा सात हजार १७१ र भक्तपुरमा पाँच हजार ७६ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म एक लाख ३५ हजार ६४८ जना सङ्क्रमित निको भएका छन् । ललितपुरमा २० हजार ७२८ र भक्तपुरमा ११ हजार ५२९ जना सङ्क्रमित हालसम्म निको भएका छन् ।

तपाईको प्रतिक्रिया