काठमाडौँ–तराई द्रुतमार्ग :सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

  जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्झौतापत्रमा द्रूतमार्गतर्फबाट आयोजना प्रमुख एवं नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सु यान र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सनका प्रोजेक्ट प्रबन्धक प्रमुख श्रीमती सु तिनग्यु बारबराले हस्ताक्षर गर्नुभएको थियो ।

‘सम्झौताअनुसार दुईवटै प्याकेजको डिजाइनका लागि छ महिनासहित कुल निर्माण अवधि साढे तीन वर्ष रहेको छ,’ सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, ‘पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ ।’ द्रुतमार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ प्रारम्भिक अनुमान गरिएको छ ।

उहाँले पहिलो प्याकेजमा एउटा लामो सुरुङ र दोस्रो प्याकेजमा छुट्टाछुट्टै दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो । द्रुतमार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङमार्ग तथा हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । उक्त द्रूतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा सुरुङ निर्माण गरिनेछ ।

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग र हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । यस मोडेलअनुसार निर्माण छनोट भएका कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफैँले गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, सुरुङमार्ग तथा हाइब्रिजको निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण र ‘डीएलपी’को अवधिमा सुरुङमार्ग तथा हाइब्रिजको मर्मत सम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीको नै हुनेछ । सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको पूर्वछनोटको क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए तीमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

नेपाली सेनाले २०७६ फागुनमा द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माण गर्ने कम्पनी छनोटका लागि प्रि–क्वालिफिकेसन आह्वान गरेको थियो । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्ने गरी द्रुतमार्गको कुल दूरीलाई ११ क्लस्टरमा विभाजन गरी काम अगाडि बढाइएको सेनाले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया