अक्सिजन प्लान्टसहितको ५० शैय्याको अस्पताल निर्माण गरिँदै

  जेठ ०२, २०७८

भक्तपुर, जेठ २ : भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्टसहित ५० शैय्याको नगर अस्पताल निर्माण गर्ने भएको छ । दस शैय्याको आईसीयू, १५ शैय्याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई शैय्याको भेन्टिलेटर र २३ शैय्याको जनरल वार्ड सञ्चालनमा ल्याउन लागेको हो ।

नगरपालिका–८ स्थित सूर्यविनायकको जगातीमा निर्माणाधीन नगर अस्पतालमा कोरोनालगायत अन्य बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन प्लान्टसहितको अन्य पूर्वाधार निर्माणमा नगरपालिकाले तीव्रता दिएको हो ।

सूर्यविनायक नगरपालिकाले अस्पतालका लागि आवश्यक सामग्री खरिदका लागि तीन करोड र पूर्वाधार निर्माणका लागि एक करोड गरी चार करोड रुपियाँ तथा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दुई करोड २५ लाख रुपियाँ गरी जम्मा छ करोड २५ लाख रुपियाँमा नगर अस्पताल निर्माण गर्न लागेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च प्राथमिकता राख्दै नगरपालिकाले नगर अस्पताल निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

सांसद महेश बस्नेतले निर्माणाधीन नगर अस्पतालको अवलोकन गर्दै अबको दुई साताभित्र नगर अस्पताल सञ्चालनमा आउने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिनुभयो । अक्सिजन र शøया अभावले कोरोना सङ्क्रमितलगायत अन्य बिरामीको मृत्यु हुनबाट रोक्नका लागि दुई साताभित्र अस्पताल निर्माण गर्न आफूले निरन्तर सक्रियता देखाएको उहाँले बताउनुभयो ।

नगरपालिका–८ का अध्यक्ष किरण थापाले अबको दुई साताभित्र नगरपालिकाको आफ्नै नगर अस्पतालमा अक्सिजन प्लान्टसहितको उपचार नगरवासीले पाउने बताउनुभयो । नगरपालिकाले अहिले अस्पताल निर्माणका लागि धमाधम काम अगाडि बढाइरहेको छ ।

सूर्यविनायक नपाले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको हप्तामा दुई पटक कन्ट्याक ट्रेसिङ गर्दै आएको छ । प्रत्येक सोमबार वडा नं. ४ स्थित दधिकोटको नगर अस्पतालमा र बिहीबार वडा नं. ८ स्थित जगातीमा निर्माणाधीन नगर अस्पतालमा ११ देखि १ बजेसम्म कन्ट्याक ट्रेसिङ कार्य गर्दै आएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि र वडा कार्यालयको समन्वयमा कन्ट्याक ट्रेसिङ गर्ने व्यवस्था मिलाइएको छ । कोरोना पोजेटिभ देखिएका व्यक्तिलाई सम्बन्धित वडा र स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य अवस्था बुझ्ने कार्य गर्दै आएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया