नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँग सामुहिक छलफल गर्नुहुँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा सहभागी रहनुभएका नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाअनुसार यस्तो महामारीकाबेला पनि अक्सीजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको समाचार आउनु दुःखद् भएको बताउनुहुँदै त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारवाही गरिने चेतावनी प्रधानमन्त्री ओलीले दिनुभयो । जनताको जिउधनको रक्षा गर्नु अहिले सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोभिड नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताउनुभयो ।

अक्सिजन सिलिण्डर, औषधिजन्य वस्तु, अस्पतालका शैया तथा एम्बुलेन्सको भाडासमेत चर्कोरुपमा असुलिरहेको सूचना आफूकहाँ पुगेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्तो महामारीकाबेला कमाउनेतिर होइन, जनताको जिउज्यानको रक्षामा ध्यान केन्द्रित गर्नुहोस्, कसैले सरकारी मापदण्डभन्दा बढी रकम असुली गरी पीडित जनतालाई थप पीडा दिएको पाइएमा सरकारले कारवाही गर्छ ।” नेता नेम्वाङले प्रधानमन्त्रीलाई उदृत गर्दै भन्नुभयो, “सरकार जनताको अभिभावक हो, समस्याकाबेला अभिभावकको भूमिका निर्वाह गर्छ, गर्दैछ त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य छ, सबै मिलेर कोभिडविरुद्ध लागौं ।” सरकारले आफ्नो सबै ध्यान र शक्ति जनताको स्वास्थ्यमा लगाउने उहाँले बताउनुभयो ।

आज भएको छलफल र विज्ञहरुको परामर्शका आधारमा सरकारले कार्ययोजना बनाई अगाडि बढ्ने र जनताको जिउधनको रक्षामा सरकारले कुनै कसर बाँकी नराखी आफ्नो संयन्त्र परिचालन गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले बैठकमा गर्नुभयो । बैठकमा सरकारका मन्त्रीहरु, जनस्वास्थ्य विज्ञहरु, सरकारी अस्पतालका प्रमुख, निजी अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लार्यदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरुको सहभागीता थियो । साँझ साढे चार बजेदेखि शुरुभएको छलफल करिब चार घण्टा चलेको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया