चिनियाँ रोभर ‘चुरोङ’को मङ्गलमा सफल अवतरण

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : चिनियाँ अन्तरिक्ष यान चुरोङ रोभर मङ्गल ग्रहमा सफलतापूर्बक अवतरण गरेको छ । सात महिनाको अन्तरिक्ष यात्रा तथा तीन महिनासम्म कक्षको परिक्रमापछि मङ्गलमा सफलतापूर्बक यान अवतरण गराउने चीन दोस्रो राष्ट्र बनेको हो ।

बीबीसीका अनुसार शनिबार सात बजेर १८ मिनेट जाँदा उक्त यान मङगल टेकेको हो । यसअघि अमेरिकाले मङ्गलमा सफलतापूर्बक यान अवतरण गराएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङले एक विशेष सन्देश जारी गरेर उक्त यान अवतरण गराउने समूहलाई बधाइ दिनुभएको छ । रोभरको ‘सोलार प्यानेल’ खुल्न अवतरण गरेको १७ मिनेट समय लिएर पृथ्वीमा संकेत पठाएको थियो । छ पाङ्ग्रासहितको रोभर मङ्गल ग्रहको उत्तरी गोलाद्र्धको हिस्सा यूटोपिया प्लेनीशिया समतल भूभागमा टेकेको छ ।

चुरोङ रोभरलाई तिअन्वेन–१ आर्बिटरले मङ्गलसम्म बोकेको थियो । मङ्गलमाथि तिअन्वेन–१ गत् फेब्रुअरी महिनामा आइपुगेको थियो । चिनियाँ भाषामा ‘चुरोङ’लाई अग्नि देवको रुपमा अथ्र्याइने गरिन्छ ।

पृथ्वीबाट मङ्गलको दूरी ३२ करोड किलोमिटर रहेको छ । मङ्गलबाट पठाइने रेडियो सन्देश पृथ्वीमा आइपुग्न १८ मिनेट लाग्छ ।

चुरोङको सफल अवतरणपछि यानले मङ्गलको ९० दिनको अवलोकन गर्नुका साथै भौगोलिक अवस्थाबारे अवलोकन गर्नेछ । यानमा जोडिएको अन्य पाँच उपकरणले मङ्गलमा विद्यमान लवणीय चट्टान र सतहमुनि बरफको उपस्थितिबारे अन्वेषण गर्नेछ ।

उक्त यान अमेरिकी अन्तरिक्ष संस्था(नासा)को ‘स्पिरिट’ र ‘अपरचुनिटि’ झैं देखिन्छ । यानको तौल करिब २४० किलोग्राम रहेको छ ।

तपाईको प्रतिक्रिया