कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन

  जेठ ०१, २०७८

तनहुँ, जेठ १ : जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो ।

गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उहाँले बताउनुभयो ।

मल प्रयोग गरी सुपरनेपियर, इपिल इपिल, मठ, पारा, मकैचरी लगायतको उन्नत घाँस लगाउने योजना रहेको छ । उहाँले भन्नुभयो “गौ संरक्षण केन्द्रमा हाल ५५ वटा गाई रहेकोले घाँस उत्पादनको लागि ट्रयाक्टरले जोतेर घाँस रोप्न लागिएको छ ।” वडा नं २, ३, ४ र १ बाट दैनिक बाह्र टन फोहोर सङ्कलन हुने गरेकोमा करिब ४० प्रतिशत कुहिने फोहोर रहेको नरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिनुभयो ।

कुहिने फोहोरबाट भतेरीमा बायोग्याँस प्लान्ट जडान गरी विद्युतसमेत उत्पादन गरिसकिएको उहाँले बताउनुभयो । छाडा चौपाया जथाभावी छाड्दा सवारी दुर्घटना वृद्वि हुन थालेपछि नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र स्थापाना गरिएको हो । केन्द्रमा गाई ब्याएपछि स्थानीय विपन्न परिवारलाई सुपथ मूल्यमा प्रदान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया