रुपन्देहीमा अक्सिजन व्यवस्थापनमा नेपाली सेनाको जनशक्ति परिचालन हुने

  जेठ ०१, २०७८

बुटवल, वैशाख ३१ : अक्सिजन अभावले उपचार प्रभावित भइरहेका बेला अक्सिजनको सहज आपूर्ति र ब्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन हुने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति,अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले यसका लागि नेपाली सेना गरुण दल गण,रामनगर ब्यारेकलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रजिअ तामाङका अनुसार यस्तो निर्णयसंगै शनिबारदेखि रुपन्देहीमा रहेका अक्सिजन उद्योग तथा प्लान्टहरुमा नेपाली सेनाको जनशक्ति खटिनेछ ।र, अक्सिजन सहज आपूर्तिका लागि सेनाले व्यवस्थापन गर्नेछ ।

यसबाट अक्सिजनको उत्पादनमा बृद्धि गर्न र प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहज पुग्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘सेनाले व्यवस्थापन गर्यो भने अक्सिजनको उत्पादन र वितरण प्रक्रियामा सहज ब्यवस्थापन हुने छ ।’ प्रजिअ तामाङले जिल्लामा अक्सिजनको अभाव हटाउन अनेक प्रयास भइरहेको पनि बताउनुभयो ।

बैठकमा सुरक्षा अधिकारीहरुसहित अक्सिजन उत्पादक प्लान्टका व्यवस्थापक र नेपाल बिद्युत प्राधिकरणका प्रतिनिधि लगायतको सहभागिता थियो ।

रुपन्देहीमा शंकर अक्सिजन ग्याँस प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्याँस इण्डष्ट्रिज पड्सरी र लुम्बिनी अक्सिजन ग्याँस प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया