कारवाही फुकुवा सकारात्मक, यसले पार्टी एकतामा बल पुग्छ : पाण्डे

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेकपा (एमाले) ले आफ्ना चार जना नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेपछि सो कदमलाई नेता नेपाल पक्षका नेताले सकारात्मक रुपले लिनुभएको छ । पार्टीको सो निर्णयले पार्टी एकतामा बल पुग्ने निलम्बन फुकुवामा पर्नुभएका नेता सुरेन्द्र पाण्डेले बताउनुभयो ।

एमालेले पार्टी हित विपरीत काम गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि निलम्बन गरेको थियो । आज बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले कारवाही फुकुवाको निर्णय गरेपछि गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै नेता पाण्डेले भन्नुभयो, “कारवाही गर्नु आफैमा ठीक थिएन । नगर्नुपर्ने काम भएको थियो, अब फेरि पार्टीले कारवाही फुकुवा गर्ने निर्णय गरेको सुनें यसले पार्टी एकतामा बल पुग्ने विश्वास लिएको छुँ ।”

आफूहरु आन्तरिक छलफलमा रहेको र पार्टीको पछिल्लो निर्णयबारेमा पनि नेताहरुसँग छलफल गरी आवश्यक प्रतिक्रिया दिइने उहाँले बताउनुयभो ।

तपाईको प्रतिक्रिया