पाँच उद्योग एकै पटक बन्द

  बैशाख २८, २०७८

विराटनगर, वैशाख २८ : मेसिनमा फलाम अड्किँदा काट्न प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङ्क्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको अवसर फलामे उद्योगमा परेको हो ।

करिडोरका पशुपति आइरन, हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टिल, प्रिमियर वायर, प्रिमियर स्टिल उद्योग बन्द गरिएका छन् । आफ्नै अक्सिजन उद्योग भएको प्रिमियर स्टिल र प्रिमियर वायर पनि बन्द गरिएको छ । प्रिमियरका सञ्चालक एवं पूर्वसंविधान सभा सदस्य पवनकुमार शारडाले औद्योगिक क्षेत्रमा रहेका अक्सिजनका सिलिन्डर मेडिकल प्रयोग प्रयोजानार्थ फिर्ता गरिएसँगै फलाम उद्योगबाट हुने उत्पादन बन्द गरिएको जानकारी दिनुभयो ।

“सरकारको निर्णय कार्यान्वयनबाहेक अर्को विकल्प हामीसँग पनि छैन,” उद्योगी शारडाले भन्नुभयो, “मेरो आफ्नै स्वामित्वको विनायक अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन मैले फलाम उत्पादनका लागि प्रयोग गरेको छैन । ” प्रिमियर स्टिल उद्योगले दैनिक आठ सय मेट्रिक टन क्षमता राख्दछ । निर्माणमा प्रयोग हुने फलामका कुनै पनि सामान उत्पादन गर्न रोकिएको शारडाले बताउनुभयो । प्रिमियरकै उत्पादन वायरमा भने अक्सिजनको भूमिका कम हुने भएकाले सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

पशुपति आइरनका सञ्चालक अशोक मुरारकाका अनुसार फलामे उद्योग एक मिनेट पनि अक्सिजनबिना सञ्चालन हुन नसक्ने बताउनुभयो । ‘प्रोडक्ट’ मेसिनमा अड्कियो भने त्यसलाई काट्न अक्सिजन नै चाहिन्छ, उद्योगी मुरारकाले भन्नुभयो, “उत्पादनका अन्य प्रक्रियामा पनि अक्सिजन अनिवार्यजस्तै हुन्छ फलामे उद्योगलाई ।” गत हप्तादेखि सरकारले देशभरिका औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन गरेको थियो । अक्सिजन उद्योगहरूले समेत अहिले औद्योगिक प्रयोजनका लागि खपत हुने सिलिन्डर रिफिल गरेर पठाउन छोडिसकेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले बताउनुभयो ।

विनायक अक्सिजनका सञ्चालक शारडाका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित चारवटा अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन सिलिन्डरको २५ प्रतिशत औद्योगिक प्रतिष्ठानमा खपत हुँदै आएको थियो । ती सिलिन्डर अहिले मेडिकल प्रयोग प्रयोजनार्थ मात्रै पठाउने गरिएको छ । फलाम उद्योगका सञ्चालकले कामदारको पारिश्रमिक र विद्युत्को महसुलको विषयमा सरकारले केही प्याकेज दिनुपर्ने माग गरेका छन् । पूर्वका सबैजसो फलामे उद्योगले आफ्नै अक्सिजनका सिलिन्डर भए पनि अहिले अक्सिजन उद्योगले औद्योगिक प्रयोजनका लागि पुनः भर्ने नगरेको उद्योगी मुरारकाले बताउँदै भन्नुभयो, “विद्युत्को मासिक पाँच करोड र तीन सय कामदारको भुक्तानीबाहेक अन्य विषयमा चिन्ता छैन ।”

एउटै उद्योगले दैनिक ४० सिलिन्डरभन्दा बढी अक्सिजन खपत गर्दै आएका थिए । पशुपति आइरनलाई दैनिक ४० वटा सिलिन्डर चाहिने उद्योगी मुरारका बताउनहुन्छ । आरतीका उपाध्यक्ष अश्विनी शर्माले उद्योगको स्टिल युनिट पाँच दिनदेखि पूर्ण बन्द भएको जानकारी दिनुभयो । उद्योगको कर्कटपाताको युनिट भने २५ प्रतिशत क्षमतामा चलिरहेको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया