कसैलाई काखापाखा हुँदैन : प्रधानमन्त्री

  बैशाख २७, २०७८

काठमाडौँ, वैशाख २७ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सामूहिक राजीनामा नगर्न आह्वान गर्नुभएको छ । पार्टीलाई बलियो पार्दै अगाडि बढ्न सम्पूर्ण कार्यकर्तालाई उहाँले आग्रहसमेत गर्नुभएको छ ।

माधवकुमार नेपाल समूहका सांसदहरूले शनिबार राति सामूहिक राजीनामा दिने निर्णय गरेको भनिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस्तो नगर्न आह्वान गर्नुभएको हो । उहाँले आइतबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सामूहिक राजीनामा नदिन सांसदहरूलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुहुने कार्यक्रम छ । पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीका स्वार्थलाई मलजल गर्ने प्रयास भइरहेको भन्नुहुँदै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी-गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्ने जस्ता हानिकारक प्रयास भएका छन् ।”

प्रधानमन्त्री ओलीले कुनै पनि तहमा पार्टीको सरकारलाई ढालिछाड्ने र विरोधीलाई फाइदा पुग्नेजस्ता घातक र दुःखद प्रवृत्ति देखा परेको भन्नुहुँदै यस्ता प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त नभएको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ, “के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौँ, भोलि हामी जनतालाई के जवाफ दिन्छौँ ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।”

कसैको व्यक्तिगत स्वार्थपूर्तिको माध्यम पार्टीलाई बनाउन नहुने बताउनुहुँदै अध्यक्ष ओलीले भन्नुभएको छ, “भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन ।” पार्टीका कुनै पनि सदस्यले पार्टीलाई हानि पुग्ने र आन्दोलनलाई क्षति पु-याउने क्रियाकलापमा संलग्न हुँदैनन् भन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र सङ्कल्पका सङ्गठित र सक्रिय भई अगाडि बढेको वामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, अग्रजका मार्गदर्शन र योगदानबाट स्थापित भएको उहाँले उल्लेख गर्नुभएको छ । एमाले पार्टी राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको चर्चा गर्दै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “जनताको आशा, भरोसा र विश्वासको केन्द्र यो पार्टी–नेकपा (एमाले)लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायित्व आजको पुस्ताको हो ।”

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टीको विवादका सम्बन्धमा नेताद्वय सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेलले छलफल गर्नुभएको छ । आइतबार दिउँसो नेता नेपाललाई उहाँहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट भेट गर्नुभएको हो ।
वरिष्ठ नेता नेपालसँगको छलफलपछि नेता नेम्वाङले सांसदको सामूहिक राजीनामा दिने कुरा चर्चाको विषय मात्रै भएको बताउनुभयो ।

पार्टीका नमिलेका कुरा वार्ता र छलफलमार्फत छिटै टुङ्गोमा पुग्ने बताउँदै उहाँले थप्नुभयो, “उहाँसँग गम्भीरतापूर्वक पार्टीको समस्या र एकतासम्बन्धी विषयमा गम्भीर छलफल ग-यौँ । ” नेता नेपालसँग प्रधानमन्त्रीको चिन्ता र सरोकारको विषय राखेको र नेपालसँग धेरै कुरा खुलस्त भएको पनि उहाँले बताउनुभयो । पार्टी एकतालाई बलियो बनाएर लैजाने र देखिएका समस्यालाई कसरी टुङ्गोमा पु-याउने भन्ने सबैको चिन्ताको विषय भएको चर्चा गर्दै नेम्वाङले ठोस रूपमा के आधार हुन सक्छन्, त्यसमा फेरि पनि भेटघाट गरिने छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया