महासङ्घको अपरेशन कोभिड रिलिफ नेपाल अभियान, हेल्लो डक्टर भोलिबाट

  बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी उक्त अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।

एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेल्लो डाक्टरको शुभारम्भ गरिएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासङ्घ छ ।

हेल्लो डाक्टर कार्यक्रम महासङ्घद्वारा सञ्चालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतबारदेखि शुरु हुनेछ । कोभिड सङ्क्रमित भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइवरमार्फत कोभिड सङ्क्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ । प्रारम्भमा पाँचजना डाक्टरबाट परामर्श गर्नेछन् ।

रोग सङ्क्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थाबाहेक अस्पतालसम्म जान नपर्ने वातावरण तय गर्न लागिएको महासङ्घको भनाइ छ । यसबाट कोभिड सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।

हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड सङ्क्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासङ्घका अध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया