कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपालमा कोरोनाभाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा केही सातायता कोभिडका बिरामी र मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ ।

सङ्क्रमणको यो दोस्रो लहरमा बालबालिका र वृद्धवृद्ध तथा युवाहरू सङ्क्रमित भएको देखिन्छ । प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्था र अस्पतालहरू भरिभराउ भएका विवरणहरू आइरहेको बेला कोभिड-१९ बारे जान्नै पर्ने केही कुराहरू यहाँ प्रस्तुत गरिएको छ ।

अहिले देखिएको कोभिडका लक्षण के हुन् ?
कोरोनाभाइरसका बेला देखिने लक्षण अरू सङ्क्रामक रोग खागसरी फ्लू अथवा रुघाखोकीसँग मिल्दोजुल्दो हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन् ।

त्यसैले सहजै रूपमा कोभिडका लक्षण यिनै हुन् भन्न सकिने अवस्था नरहने उनको भनाइ छ । उनका अनुसार खोकी लाग्ने, जीउ दुख्ने, सास फेर्न अप्ठेरो हुने जस्ता कोभिड-१९ का मुख्य लक्षण हुन् ।

“तर यी लक्षणहरू अरू रुघाखोकीजस्ता सङ्क्रामक रोगसँग मिल्ने हुँदा यसमा हामीले (कोभिडमा) छुट्ट्याउन सकिने भनेको स्वाद र गन्ध थाहा नपाउने भनेका छौँ। त्यो विशेषता नै हो। अरूमा चाहिँ कमै हुन्छ,” पुनले बीबीसीसँग भने ।

हाल विभिन्न देशमा गन्धको परीक्षण गर्ने विधि ल्याउन लागिएको उनी बताउँछन् । लक्षणकै आधारमा कहिलेकाहीँ कोभिड भए नभएको छुट्ट्याउन गाह्रो हुने हुँदा बिरामी परेका व्यक्तिको यात्राको इतिहास पनि जान्न जरुरी रहेको उनको भनाइ छ ।

कोरोनाभाइरस सङ्क्रमण व्याप्त रहेका ठाउँहरूमा पुगेका वा आफूसँग सम्पर्कमा रहेका व्यक्ति कसैमा कोरोनाभाइरस पुष्टि भए नभएको विषयमा जानकारी राख्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

तर काठमाण्डूजस्तो हाल सङ्क्रमण व्याप्त रहेको स्थानमा आफूलाई थाहा नभईकनै वा आफू कोरोनाभाइरस फैलिएको ठाउँबाट आएको पनि होइन भने त्यो अवस्थामा पुष्टि गर्नका लागि परीक्षण नै गर्नुपर्ने उनी बताउँछन् ।

नेपालमा देखिएका नयाँ भेरिअन्टले कोभिडको लक्षणमा फरक पार्छ ?
नेपालमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलनुमा यूके भेरिअन्ट मुख्य जिम्मेवार भएको गत एप्रिल महिनामा बीबीसीसँग स्वास्थ्य अधिकारीहरूले बताएका थिए । संसारमा फैलिरहेको यूके भेरिअन्टसहित भारतमा देखा परेको डबल म्यूटन्ट भेरिअन्ट पनि यहाँ भेटिएको उनीहरूले बताएका छन् ।

कोभिडबाट बिरामी भएका कतिपयले शरीर रातो हुने, छाला चिलाउने वा पखाला लाग्ने भन्ने कुराहरू गरिरहेको आफूले सुनेको भए पनि यी कोभिडको विशिष्ट किसिमका लक्षण नरहेको पुन बताउँछन् । अहिले पनि अस्पताल भर्ना हुन आएका बिरामीहरूमा सास फेर्न गाह्रो हुने, ज्वरो र खोकीजस्ता लक्षण नै देखिनै गरेको चिकित्सकहरू बताउँछन् ।

भाइरल सङ्क्रमण र स्वाइन फ्लूका बेला समेत सामान्यतया जीउ चिलाउने, आँखा रातो हुने र पखाला लाग्ने हुने निर्क्योल गरिएको भए पनि यी लक्षणले नै कोरोना भए नभएको स्पष्ट नहुने उनी बताउँछन् । पहिले र अहिलेको भेरिअन्टमा छुट्ट्याउन सकिने कुनै विशेष सङ्केत भएजस्तो आफूलाई नलागेको पुनको भनाइ छ ।

कस्तो अवस्था आए अस्पताल जाने ?
कोरोनाभाइरस सङ्क्रमणका कारण सङ्घीय राजधानी काठमाण्डूसहित मुलुकका विभिन्न स्थानमा अस्पतालहरू भरिएको र शय्या पाउन गाह्रो भएको गुनासाहरू आइरहेका छन् ।

कतिपय कोभिडका बिरामीहरू घरमै बसिरहेका छन् । उसोभए कस्तो अवस्था आए अस्पताल जाने त ? डा. पुनका अनुसार पल्स अक्सिमिटर उपकरणको सहयोगमा घरमै शरीरमा अक्सिजनको तह कति छ भन्ने कुरा बिरामीहरूले गर्नुपर्ने हुन्छ ।

“अस्पताल जानुपर्ने नजानुपर्ने एउटा एकदम ‘क्रिटिकल डिसिजन’ (संवेदनशील निर्णय) जुन भन्छ त्यो त्यसले (अक्सिमिटर) देखाउँछ । अर्को कुरा त्यो (अक्सिमिटर) कसैसँग भएन भने श्वासप्रश्वासमा समस्या हुने, अत्यधिक खोकी लागेकोलाग्यै गर्ने, बान्ता आउन थाल्यो, पखाला लागेकोलाग्यै गर्‍यो भने उहाँहरू अस्पताल पुग्नुपर्छ वा कम्तीमा पनि चिकित्सकको सम्पर्कमा रहनुपर्छ,” उनले भने ।

कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन् । उनका अनुसार अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ ।

“त्यसै कारण कोरोनाभाइरस पोजिटिभ हुनेबित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिकाउँछौँ,” उनले भने । सामान्यतया पल्स अक्सिमिटरले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ । काठमाण्डूजस्तो समुद्री सतहबाट उचाइ बढी भएको स्थानमा अक्सिजनको तह ९६/९७ भन्दा प्रायः बढी नहुने चिकित्सकहरू बताउँछन् ।

“तर धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ। उहाँहरूका लागि सामान्य अङ्कनै ९२-९३ हुन सक्छ। कसैको ९० मात्र पनि हुन सक्छ,” सुवेदीले भने ।

कोरोनाभाइरस लागेका कतिपयमा भाइरल निमोनिया पनि देखिने गरेको पाइएको भए पनि त्यसलाई कुनै एन्टिबायोटिक वा अन्य उपचारबाट निको पार्न नसकिने उनको भनाइ छ । भाइरल निमोनिया भएका अधिकांश मानिसहरूको शरीर आफैँले प्रतिरोध गर्ने सुवेदी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी कोभिड-१९ को परीक्षण गर्दा सङ्क्रमण पनि नदेखिए पनि लक्षण हुँदा वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने बताउँछन् । त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको उनको भनाइ छ ।

“आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ । त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्यसंस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ,” उनले भने ।

औषधि सेवन कसरी गर्ने ?
कोभिडबाट बिरामी भएकाहरूले घरमै बस्दा सिटामोलसहित छातीमा सङ्क्रमण नहोस् भनेर विभिन्न औषधि सेवन गरिरहेको विवरणहरू आइरहेका छन् । खासगरी सामाजिक सञ्जालमार्फत् कोभिडका बेला निश्चित किसिमका समस्या हुँदा सेवन गर्न सकिने औषधि भनेर सूची नै सार्वजनिक भइरहेको पाइन्छ ।

तर चिकित्सकहरूको सुझावबिना कुनै पनि औषधि प्रयोग गर्न नहुने डा. अधिकारी बताउँछन् । डा. पुन पनि त्यो कुरामा सहमत छन् । भाइरल सङ्क्रमणका क्रममा केही दिनसम्म समस्या आउन सक्ने सम्भावना रहने हुँदा कुनै पनि औषधि आवश्यक भएको वा आफ्नो स्थिति जटिल भएजस्तो लागेको खण्डमा चिकित्सकको सल्लाह लिनुपर्ने उनी सुझाउँछन् ।

“कसैले भनेकै आधारमा नखानुहोस् । एउटा फर्म्याटजस्तो सामाजिक सञ्जालमा घुमेको देख्छु । यो कतिपयले खाँदा फाइदाभन्दा पनि बढी मात्रामा बेफाइदा हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्था नआओस् जसले गर्दा कोरोनाभाइरसले होइन कि स्वयं त्यो औषधि खाँदा नकारात्मक परेर बिरामी हुनु नपरोस्,” उनले भने ।

कोभिडका स्पष्ट लक्षण हुँदा परीक्षण गर्न जरुरी छ कि छैन?
काठमाण्डू उपत्यकासहित कोरोनाभाइरसका बिरामीहरू तीव्र गतिमा बढिरहेका स्थानहरूमा कोभिडका लक्षण भएका कतिपय सर्वसाधारणहरूले परीक्षण नगरी घरमै आवश्यक मापदण्ड पुर्‍याएर बसिरहेको विवरणहरू सार्वजनिक भएका छन् ।

एउटै परिवारमा धेरै जनामा समान लक्षण देखिँदा एक जना वा दुई जनाले परीक्षण गर्ने कतिपयले गरेको र कतिपयलाई पटकपटक परीक्षण गर्न आर्थिक रूपमा अप्ठेरो हुनेहुँदा उनीहरूले आफ्नै निवासमा सावधानी अपनाएर बसिरहेको बताइन्छ । अत्यधिक मात्रामा कोरोनाभाइरस फैलिएको स्थानमा आफू पनि सङ्क्रमित भएजस्तो महसुस भए १४ दिन एकान्तवास अर्थात् आइसोलेशनमा बस्न उचित हुने पुन बताउँछन् ।

“कुनै एउटा ठाउँमा उदाहरणका लागि हैजा फैलियो रे। हुन त सबै पखाला लागेकालाई हैजा हुनैपर्छ भन्ने छैन तर कुनै यस्तो गाउँ छ जहाँ हैजा प्रशस्त मात्रामा फैलिएको छ र त्यहाँ कसैलाई पखाला लाग्यो भने उसले वा प्रत्येक मान्छेले गएर परीक्षण गर्नुपर्छ भन्ने हुँदैन । किनभने त्यो एउटा प्रकोपको अवस्था हो,” पुनले भने।

त्यस्तै गरी काठमाण्डू उपत्यकामा जुन हिसाबले कोरोनाभाइरस फैलिएको छ कसैलाई रुघाखोकीको जस्तो लक्षण, स्वाद अनि गन्धमा समस्या आइसकेको अवस्था भए र परीक्षण गर्ने अवस्था नरहे वा नचाहे स्वयम् एकान्तवासमा बस्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले पनि आफूमा कोरोनाभाइरस सङ्क्रमणको लक्षण भए जस्तो शङ्का हुनासाथ क्वारन्टीनमा बस्नुपर्ने बताउँदै आएको छ । कोरोनाभाइरसको लक्षण भए पनि नतिजा नेगटिभ भने आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

“हामीसँग अहिले पनि १०० मा १०० नै सङ्क्रमण पुष्टि गर्न सक्ने प्रविधि छैन । हामीसँग अहिले भएकामध्ये सबैभन्दा विश्वसनीय भनेर आरटी-पीसीआर लाई लिन्छौँ । यसले पनि १०० मा १०० नतिजा दिने होइन । यसमा सङ्क्रमण भएका व्यक्तिमा पनि पुष्टि गर्न नसक्ने खालको केही सङ्ख्या हुन सक्छ,” मन्त्रालयका प्रवक्ता अधिकारीले भने, “त्यस्तोमा हामीमा लक्षण विकास हुन सक्ने, हामीले अरूलाई सङ्क्रमण सार्न सक्ने हुन सक्छ ।”

तपाईको प्रतिक्रिया