स्वास्थ्य, सुशासन र पारदर्शीको कसीमा हेलम्बु

  बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : वित्तीय अनुशासन र पूँजीगत खर्चबारे अनेकौँ टीकाटिप्पणी र आलोचना भइरहेका बेला जनतालाई घरदैलोमै सरकारको अनुभूति दिलाउन र खर्चमा पारदर्शिता कायम गर्ने सन्दर्भमा हेलम्बु गाउँपालिका अग्रणी देखिएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतमा राखी जनताले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रम अघि बढाएको उक्त गाउँपालिकाले खाद्यान्न, तरकारी, फलफूल र माछा मासुमा केही वर्षभित्रै आत्मनिर्भर हुने योजना अघि सारेको छ ।

मुलुकमै कुनै बेला स्याउ उत्पादनमा ख्याति कमाएको हेलम्बु क्षेत्र पछिल्लो समय ट्राउट माछा उत्पादनको ‘हव’ बन्दै गएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । करिब २० हजार जनसङ्ख्या रहेको हेलम्बु गाउँपालिका २७४.३६ वर्ग किलोमिटरमा फैलिएको छ ।

उक्त गाउँपालिकामा रहेको ११ रेन्बो ट्राउट फार्मबाट वार्षिक ९० देखि १०० टन माछा उत्पादन हुँदैआएको भण्डारी रेन्बो ट्राउट रिसर्च सेन्टरका सञ्चालक उत्तममणि भण्डारी बताउनुहुन्छ । माछाका लागि गाउँपालिकाले ह्याचरी व्यवस्थापनमा सहयोग पु-याएको छ ।

आफनै गाउँमा परिवार र साथीभाइसँगै रहेर व्यवसाय सञ्चालन गर्ने अवसर जुटेकामा खुशी नहुने प्रश्नै नरहेको उहाँको भनाइ छ । गाउँपालिकाले आफ्नो पुरानो पहिचान स्थापित गर्न उन्नत जातका स्याउका बेर्ना लगाउने कार्यलाई पछिल्ला वर्षमा तीव्रता प्रदान गरेको छ ।

अध्यक्ष शेर्पाका अनुसार अघिल्लो वर्ष मुस्ताङबाट दुई हजारको सङ्ख्यामा उन्नत जातको बेर्ना ल्याएर स्याउ प्रवद्र्धन कार्यक्रम शुरु गरिएको छ । लगाइएका बिरुवाबाट उत्पादित फलको गुणस्तरका आधारमा क्षेत्र छनोट गरी नमूना खेती कार्यक्रम सञ्चालन गर्ने पालिकाको सोच छ ।

मुलुकमा राजनीतिक दलले जति नै विकास र समृद्धिको नारा दिए पनि काठमाडौँको तरकारी मात्र होइन, काश्मीरको स्याउसमेत हेलम्बु पुग्न थालेपछि अध्यक्ष शेर्पाले स्थानीयवासीलाई आत्मनिर्भर तुल्याउन खाद्यान्न, तरकारी र फलफूल प्रवद्र्धनका विविध कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । केही वर्षमै हेलम्बुका पहिचान विभिन्न उत्पादन काठमाडौँका बजारमा पु¥याइने अठोट गरिएको छ ।

किसानलाई मलखाद र बीउबिजनमा सहयोग अनुदान उपलब्ध गराउने क्रममा गाउँपालिकाले धुलिखेलकै मूल्यमा हेलम्बुका प्रत्येक वडामा रासायनिक मल उपलब्ध गराइरहेको स्थानीय कृषक नारायण गिरीले जानकारी दिनुभयो । ढुवानीबापतको खर्च गाउँपालिकाले व्यहोरिरहेको छ ।

किसान र व्यवसायीलाई मात्र होइन, विद्यार्थी, शिक्षक र अरु राष्ट्रसेवक कर्मचारीलाई पनि हेलम्बु गाउँपालिकाले प्रोत्साहन गरिरहेको छ । प्रत्येक विद्यालयले आवश्यक जैविक आवश्यक तरकारी आफैँ उत्पादन गर्ने नीति अघि बढाएका छन् । त्यसका लागि विद्यार्थीलाई प्रोत्साहनको कार्यक्रमसमेत अघि सारिएको छ ।

माथिल्लो भागमा हेल्मो (शेर्र्पा) त्यसपछि क्रमशः तामाङ र बाहुन÷क्षेत्रीको बसोबास रहेको हेलम्बु गाउँपालिकाले कोरोनाका कारण औषधि व्यवस्थापनमा समस्या झेलिरहेका नियमित औषधि आवश्यक पर्ने ज्येष्ठ नागरिक तथा अन्य रोगीलाई निःशुल्क औषधि उपलब्ध गराएर ठूलो गुन लगाइरहेको छ ।

गाउँपालिकाभित्रका कुनै पनि गर्भवती महिलालाई स्वास्थ्यचौकीमा आएर सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले घरसम्म ल्याउन र पु-याउन निःशुल्क एम्बुलेन्सको व्यवस्थाका साथै अस्पतालमा रहँदा कुरुवालाई समेत निःशुल्क बास र भोजनको व्यवस्था मिलाएको छ ।

सुत्केरीलाई घरदैलोमै स्वास्थ्य सेवा
प्रत्येक वडामा स्थापना गरिएको बर्थ सेन्टरमा आएर सुत्केरी हुने महिलालाई सरकारले उपलब्ध गराएको रु तीन हजार भत्ता (सुत्केरी पोषण खर्च)मा गाउँपालिकाले सतप्रतिशत थप गरेको छ । कारणवश कुनै सुत्केरीलाई उपचारका लागि काठमाडौँ लान र ल्याउन परेमा पनि पालिकाले त्यसका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्दैआएको छ ।

सुत्केरीलाई स्वास्थ्यकर्मी घरदैलोमै पुगेर उपचार सेवा दिने व्यवस्था कडाइका साथ लागू गरिएको छ । उक्त सेवापछि त्यस क्षेत्रमा मातृशिशु स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको छ । स्वास्थ्य केन्द्रमा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । मातृभाषा संरक्षणका लागि गुम्बामा शिक्षाका अतिरिक्त सरकारी विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न विद्यार्थीलाई आवासीय पठनपाठन, शिक्षक र विद्यार्थीलाई निःशुल्क खाजाजस्ता लोकप्रिय कार्यक्रम पनि गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ ।

गाउँपालिकाभित्र हाल १० वटा माध्यमिक विद्यालय रहे पनि कतिपय विद्यार्थी घरबाट दिनानुदिन दुई घण्टा धाएर विद्यालय पुग्नै पर्ने स्थितिलाई आवासीय अध्ययन अध्यापनको व्यवस्थाले विद्यार्थीलाई उत्साहित तुल्याएको छ । गाउँपालिका हेलम्बु क्षेत्रका सरकारी विद्यालयलाई नमूना बनाउने कोसिस गरिरहेको छ ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने क्रममा करिब एक साताको पदयात्रा (ट्रेकिङ) गर्न मिल्ने नमूना पदमार्ग निर्माणलाई निकै महत्व दिएको छ । करिब ६० किलोमिटरको रहने उक्त पदमार्ग राष्ट्रिय गौरवकै रूपमा रहने विश्वास गरिएको छ । देशको राजधानीबाट करिब ५० किलोमिटरको दूरीमा रहेको हेलम्बु क्षेत्रमा बन्ने पदमार्ग हिउँसँग खेल्न चाहनेका लागि रोजाइको आकर्षण गन्तव्य बन्नेछ ।

जनतालाई राज्यको अनुभूति दिऔँ : अध्यक्ष शेर्पा
“कृषि प्रधान देश भन्न नछोड्ने तर चामल, मकै, कोदो, दाल, दूध, तरकारी विदेशबाट आयात हुने, हेलम्बुमा तरकारी कालीमाटीबाट ल्याएर खाएपछि कसरी समृद्धि हासिल हुन्छ ?”, अध्यक्ष शेर्पाले भन्नुभयो, “जनतालाई राज्यको अनुभूति दिलाउन स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो छ ।”

पूँजीगत खर्च ८० प्रतिशत नघाइसकेको गाउँपालिकाले आगामी एक महिनाभित्रै सबै लक्ष्य र पूर्वाधार निर्माणका काम सम्पन्न गर्ने अठोट लिएको छ । सम्पूर्ण योजनाको सम्झौता, खर्च विवरण, लागत र प्रगतिको अवस्था आन्तरिक सर्भरमा हेर्न, बुझ्न र जानकारी लिन सकिने गरी गाउँपालिकाबाट पारदर्शिताको नमूना प्रस्तुत गरिएको छ ।

विकास आयोजना छनोट, जनहित, खर्चको पारदर्शिता र पूँजीगत खर्च समयमै ठीक ढङ्गबाट कसरी गर्ने भन्नेबारे राज्यले समेत अब हेलम्बुबाटै सिक्ने हो कि ?

तपाईको प्रतिक्रिया