राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि नाम छनोट

  बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७७ सालको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि स्रष्टा र सर्जकको नाम छनोट गरेको छ । विधागत रुपमा गठित छनौट समितिको सिफारिस अनुसार आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, भाषा एवं साहित्य विधा तर्फको राष्ट्रिय पुरस्कार प्रा. गोपीकृष्ण शर्मा गौतमलाई प्रदान गरिने भएको छ । यस्तै, सोही विधाको प्रादेशिक पुरस्कार पोषरमण चापागाई (प्रदेश १), डा. विश्वम्भर कुमार शर्मा (प्रदेश २), श्रीओम श्रेष्ठ रोदन (बागमती), गंगा कर्माचार्य पौडेल (गण्डकी), डा. सुधन कुमार पौडेल (लुम्बिनी), डा. वीरसिंह विश्वकर्मा (कर्णाली) र अभिलाल शाह (सुदुरपश्चिम)लाई प्रदान गरिने भएको छ ।

यस्तै, संस्कृति विधातर्फको राष्ट्रिय पुरस्कार प्राडा कैलाशनाथ प्याकुरेललाई प्रदान गरिने भएको छ । सोही विधाका प्रादेशिक पुरस्कारमा शेरबहादुर ईङनाम पापो लिम्बु (प्रदेश १), डा. बासुदेवलाल दास (प्रदेश २), श्यामसुन्दर राजवंशी (बागमती), शुकराज अधिकारी (गण्डकी), वसन्तकुमार विडारी (लुम्बिनी), प्राडा केवी आचार्य थापा (कर्णाली) र दिव्यश्वरी जोशी (सुदुरपश्चिम) को नाम छनौट भएको छ ।

यसैगरी, ललितकला तर्फको राष्ट्रिय पुरस्कार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । प्रादेशिकतर्फ श्रीकृष्ण जोशी (प्रदेश १), मुकेश महतो नुनियाँ (प्रदेश २), सरिता डंगोल (बागमती), देवेन्द्र थुम्केली (गण्डकी), केशवराज खनाल (लुम्बिनी), सोनाम लामा (कर्णाली) र जीतबहादुर आउजी (सुदुरपश्चिम) रहेका छन् । त्यस्तै, सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय पुरस्कार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रादेशिक तर्फको जीतबहादुर राई, नविनकुमार मिश्र, निसा देसार (शेर्पा), कनमाया गुरुङ, बद्रिकुमार पंगेनी, सुनबहादुर मल्ल र डिक्रा वादीको नाम छनौट गरिएको छ ।

यसैगरी, त्रिलोचन आचार्य (कविता), प्रा. ठाकुरप्रसाद पराजुली (निवन्ध/समालोचना), श्रीरामभरोस कापडी ‘भ्रमर’ (गद्याख्यान/नाटक), बूँद राना (बालसाहित्य) र मोहन दुवाल (भाषा साहित्य सेवा) लाई महाकवि देवकोटा पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, पुरन सिंह दयाल, अनौपचारिक सेवा केन्द्र, जागरण मिडिया सेन्टरलाई भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, प्राडा देवीप्रसाद सुवेदी र स्नेह सायमी (रामकृष्ण मानन्धर) लाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया