अन्तरप्रदेश उडान विस्तार गर्दै बुद्ध एयर

  बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक हवाई सेवा प्रदायक बुद्ध एयरले वैशाख १८ देखि एकै पटक चारवटा अन्तरप्रदेश उडान सुरु गर्ने भएको छ । बुद्धका अनुसार त्यसमध्ये तीन उडान पोखरालाई केन्द्र बनाएर हुनेछन् । एउटा उडान भने भरतपुरबाट हुनेछ ।

कम्पनीको अन्तरप्रदेश उडान तालिकाअनुसार पोखरादेखि प्रदेश २ को सिमरा, प्रदेश १ को विराटनगर र लुम्बिनी प्रदेशको नेपालगञ्जमा उडान हुनेछ । त्यस्तै सोही दिनदेखि भरतपुरदेखि लुम्बिनीमा पनि उडान सुरु गर्ने कम्पनीले जनाएको छ । देशका अधिकांश आन्तरिक उडान काठमाडौँलाई केन्द्रित बनाएर भइरहेको अवस्थामा बुद्धले एकै पटक ठूलो सङ्ख्या अन्तरप्रदेश उडान सुरु गर्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि अन्तरप्रदेश उडानलाई प्रोत्साहन गर्ने र उडान गर्ने वायु सेवा कम्पनीलाई सहुलियत दिने कार्ययोजना अगाडि सारेको थियो । बुद्धले यसअघि नै पोखराबाट भैरहवा, विराटनगरबाट तुम्लिङटार उडान सुरु गरिसकेको छ ।
बुद्धले वैशाख १८ गतेदेखि सुरु गर्न लागेको उडानलाई परीक्षणका रूपमा लिएको छ । “सुरुमा यो परीक्षण उडान हुनेछ,” कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले भन्नुभयो, “परीक्षणका आधारमा उडान नियमित गर्ने नगर्ने टुङ्गो लगाउँछौँ ।”

अन्तरप्रदेश उडानले नेपालको हवाई सेवामा नयाँ आयाम थप्ने उहाँको बुझाइ छ । अन्तरप्रदेश उडानका लागि बजार तयार गरेपछि बुद्धले आफूसँग रहेको सबैभन्दा ठूलो एटीआर ७२ जहाज प्रयोग गर्ने उहाँले बताउनुभयो । अन्तरप्रदेश उडानले यात्रुलाई काठमाडौँ आउनैपर्ने बाध्यता अन्त्य गर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । त्यस्तै कम्पनीले अन्तरप्रदेश उडानका लागि न्यूनतम भाडादर निर्धारण गरेकाले यात्रुको आकर्षण बढ्ने बताउनुभयो । कम्पनीले पोखरा–नेपालगञ्ज उडानका लागि चार हजार पाँच सय, पोखरा–विराटनगरका लागि छ हजार, पोखरा–सिमराका लागि चार हजार तीन सय र भरतपुर–भैरहवा उडानका लागि दुई हजार पाँच सय रुपियाँ निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया