कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त

  बैशाख ०४, २०७८

कर्णाली, वैशाख ४ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत हासिल गरेपश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो ।

जसअनुसार उहाँले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिनुभएको थियो ।

यसअघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समाली रहनुभएको थियो । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया