अन्नपूर्ण हिमालमा ६ जना नेपाली महिलाको नयाँ कीर्तिमान

  बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : उच्च जोखिम मानिने विश्वको दशाैं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाउनुभएको छ । सन् १९७८ देखि आरोहण शुरु भएको अन्नपूर्ण हिमालमा हालसम्म नेपाली महिलाले आरोहण गर्न सकेका थिएनन् ।

शुक्रबार मध्यान्न छ नेपाली महिलासहित ६८ जना आरोहीले एकै साथ हिमाल आरोहण गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिनुभयो । अन्य आरोहणमा पनि नयाँ कीर्तिमान हुन सक्छ तर विभागले कीर्तिमान बनाउने गरी कसैलाई अनुमति नदिएको तर नेपाली महिला भने पहिलो आरोही भएको बताउनुभयो ।

कीर्तिमानी महिला आरोहीमा माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा हुनुहुन्छ । उहाँहरु नेपालका व्यावसायिक महिला आरोही हुनुहुन्छ । आरोही माया विश्वकै अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल केटु र तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुनुहुन्छ । आरोही स्याङतेनले भने सगरमाथा र मनास्लु हिमालको आरोहण गरिसक्नुभएको छ ।

यता, दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुमले समेत अन्नपूर्ण आरोहण गर्नुभयो । अर्का आरोही फोटोपत्रकार पूर्णिमा, सगरमाथामा पुगेर कफी बनाएर कीर्तिमान रचेका पहिलो बारिस्टा दावाफुटी र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामुले अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको हो ।

नेपाली महिलाले समेत शाहसिक गतिविधिमा कीर्तिमान राखेर विश्वमा नेपालको सम्मान उच्च बनाउँदै आएको छ । वि.सं.२०५० सालमा पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेपछि नेपाली महिलामा आरोहणको इतिहास शुरु भएको हो । त्यसपछि संखुवासभाकी लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गराउनुभयो ।

मौसमले साथ दिएपछि अन्नपूर्णमा एकै दिन ६८ जनाले आरोहण गर्न सफल भएको सेभेन समिट ट्रेक्सका प्रमुख मिङमा शेर्पाले बताउनुभयो । आरोही मध्ये ९५ प्रतिशत आरोहण सफल भएको र बाँकी पाँच प्रतिशत भने व्यक्तिगत कारणले असफल भएको उहाँको भनाइ छ ।

यसै वर्ष हिउँद मौसममा १० जना नेपाली आरोहीले केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल भएको थियो । उच्च जोखिम मानिने हिमालमा हालसम्म ६१ जना आरोहीको मृत्यु भएको सरकारी तथ्याङ्क छ, गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया