नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दियो

  बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : नेदरल्याण्ड्सले नेपाल समक्ष १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिदेशीय कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सले २० ओभरमा चार विकेटको क्षतिमा १३६ रनको योगफल तयार गरेको छ ।

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको नेदरल्याण्ड्सले १२ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर म्याक्स ओ डौडले १० तथा बेन्न कूपर डक आउट हुनुभयो । सन्दीप लामिछानेले डौडलाई आरिफ शेषको हातबाट क्याच आउट गराउनुभयो । सोमपालले कूपरलाई एलबीडब्ल्युको धरापमा पार्नुभयो ।

स्कट्ट एडवार्ड्सले बास डे लीडसँग तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्नुभयो । एडवार्ड्सले ३० तथा लीडले ४१ रनको योगदान दिनुभयो । एडवार्ड्सलाई साहब आलमले कुशल भुर्तेलद्वारा क्याच आउट गराउनुभयो । पारीको अन्त्यतिर पिटर सीलर र एन्टोनियस स्टालले उत्कृष्ट पारी खेलेपछि नेदरल्याण्ड्स औसत योगफलसम्म पुग्न सफल भयो ।

कप्तान सीलरले सर्बाधिक २३ तथा स्टालले मात्र नौ बलमा २० रनको योगदान दिनुभयो । नेपालका लागि सन्दीप लामिछानेले सर्बाधिक दुई तथा सोमपाल कामी र साहब आलमले एक एक विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया