भेरीको परीक्षणमा शनिबार १०६ जना संक्रमित थपिए, जमुना नाकामा नौ जना

  बैशाख ०४, २०७८

नेपालगञ्ज, वैशाख ४ : कोरोना संक्रमणको दोस्रो लहरमा फेरी एक पटक बाँके जिल्ला कोरोना हटस्पट बनेको छ । देशको संघीय राजधानी काठमाण्डौपछि सबैभन्दा बढी संक्रमित बाँकेमै फेला परिरहेका छन् ।

शुक्रवार जिल्लाका तीनवटै प्रयोगशालामा गरेर २०० जना संक्रमित थपिएकोमा शनिबार भेरी अस्पतालको परीक्षणमा मात्रै १०६ जना र जमुनाह नाकामा नौ जना गरेर ११५ जना संक्रमित थपिएका छन् ।

अन्य दुर्ईवटा प्रयोगशालाको रिपोर्ट बेलुका आउने गरेकोले शनिवार पनि संक्रमित संख्या २०० को हाराहारीमा बढ्ने अनुमान गरिएको छ ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सो अस्पतालले गएको २४ घण्टामा १९० जनाको नमुना परीक्षण गर्दा ८ वर्ष देखि ७३ वर्ष उमेर समुहकामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले शुक्रबार मात्रै बाँकेमा २०० जना नयाँ संक्रमित थपिएको र शनिबार पनि सबै प्रयोगशालाको रिपोर्ट आएमा त्यस्तै संख्या रहने देखिएको बताउनुभयो ।

जमुनाह नाकामा नौ जनामा संक्रमण पुष्टि
नेपालगञ्जको जमुनाह नाका भएर भारतबाट फर्किएका थप ९ जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार विहान गरिएको एन्टिजेन परीक्षणमा नौ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये सुर्खेतका पाँच जना, बाँके, दाङ र जाजरकोटका एक-एक जना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । योसँगै भारतबाट फर्किएका २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका संक्रमितलाई ह्वाइट हाउस आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको फोकल पर्सन ओलीले बताउनुभयो । उता, भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ७६७ नमुना परीक्षण सम्पन्न गरिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका अनुसार हालसम्म परीक्षण भएका नमुना मध्ये ६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण तिब्र रुपमा फैलिँदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसको नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ । साँझ ७ बजेपछि रेष्टुरेन्ट, क्लबहरु बन्द गर्न केन्द्रले अपिल गरेको छ । मनोरन्जन स्थलहरु, फनपार्क, सिनेमा हल लगायत पनि बन्द गर्नुपर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया