धितोपत्र बजार पुँजीकरण तीन हजार ३८७ अर्ब ३४ करोड रुपियाँ

  बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : चालू आर्थिक वर्षको आठ महिनामा धितोपत्र बजार पँुजीकरण ३३८७ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । २०७७ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड पुगेको हो । सोही वर्षको असार मसान्तमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रुपियाँ रहेको थियो ।

सो अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१७ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार-चार होटल तथा व्यापारिक संस्था र आठ अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.७ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा १८.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ फागुन मसान्तसम्ममा सूचीकृत पाँच अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ५५१ अर्ब ६८ करोड रुपियाँ
रहेको छ । आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्ममा एक खर्ब ५० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड रुपियाँ बराबरको साधारण सेयर, २८ अर्ब ७६ करोड बराबरको बोनस सेयर, १० अर्ब पाँच करोड बराबरको डिबेन्चर, तीन अर्ब २८ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ८५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल दुुई खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड बराबरको साधारण सेयर, ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, तीन अर्ब ३० करोड बराबरको म्युचुअल फन्ड र दुुई अर्ब ४८ करोड बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया