त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

  बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी सार्वजनिक गरेको हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित हुनुहुन्थ्यो । नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल नेदरल्याड्ससँग खेल्दै छ । डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् । फाइनल खेल यही वैशाख ११ गते हुने छ ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा मल्ल बाहेक दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी रहनुभएको छ । क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सीमित दर्शकलाई मात्र मैदानमा दर्शकका रुपमा प्रवेश दिइने बताउनुभयो ।

पारसको स्थानमा सन्दीपले खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का घाइते भएपछि उहाँको स्थानमा सन्दीप जोरालाई खेलाइने भएको छ । खड्का आइतबार अभ्यासको क्रममा घाइते हुनुभएको थियो । उहाँ खेल्न असमर्थ हुनुभएपछि युवा खेलाडी जोरालाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ । फिल्डिङ गर्नेक्रममा खड्काको काँधमा चोट लागेको थियो ।

चिकित्सकले खड्कालाई केही साता आराम गर्न सल्लाह दिएका छन् । जोराले सन् २०१९ मा यूएइविरुद्धको टि २० खेलमा डेब्यू गर्दै विश्व कीर्तिमान बनाउनुभएको थियो । उहाँले उक्त खेलमा १७ वर्ष १०३ दिनको उमेरमा अविजित ५३ रन बनाउनुभएको थियो । जोराको नाममा टि २० मा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान छ ।

तपाईको प्रतिक्रिया