चैत्रमा ६५६ कोरोना सङ्क्रमितसहित ३५ हजार गौरीफन्टा र गड्डाचौकीबाट भित्रिए

  बैशाख ०३, २०७८

लम्की (कैलाली), वैशाख ३ : सुदूरपश्चिमका मुख्य चार नाकाबाट चार हजारभन्दा बढी नेपाली भित्रिएका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका उनीहरु भारतमा दोस्रो चरणको कोरोना सङक्रमण फैलिँदै गएपछि नेपाल फर्केका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अम्मरबहादुर थापाले चैत्र मसान्तसम्म कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाटा ३५ हजार भन्दा बढी नेपाली भित्रिनुका साथै २४ हजार भन्दा बढी बाहिरिएको बताउनुभयो ।

डिएसपी थापाले नयाँ वर्ष, बिषु पर्व र चैते दशैं मान्नका लागि नेपाल आउनेकोे संख्या चैत्रको अन्तिमतिर बढेको बताउनुभयो । उहाँका अनुसार गड्डाचौकी नाकाबाट चैत्र मसान्त सम्म १७ हजार १२४ भित्रिएका छन् भने १३ हजार ५३१ बाहिरिएका छन् । त्यसैगरी, गौरीफन्टा नाकाबाट १८ हजार १४१ भित्रिएका छन् भने ११ हजार ५११ बहिरिएका छन् । बाहिरिनेमा गहुँखेती भित्र्याएर भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने छन् भने कोही उपचार र अन्य कामका लागि विहान गएर साँझ फर्किने पनि रहेको जनाइएको छ ।

त्यसैगरी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट समेत नेपाली भित्रिँदै छन् । उक्त क्षेत्रबाट समेत कडा निगरानीमा करिब पाँचहजार बढी नेपाली नेपाल प्रवेश गरेको जनाइएको छ । स्वास्थ्य सर्तकताका साथ नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेक्सको ब्यवस्था गरी एन्टिजेन टेष्ट गरी आउनेजाने व्यवस्था गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानलय दिपायलका निर्देशक डा.गुणराज अवस्थीले दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम न्युनिकरणका लागि विभिन्न नाकामा राखिएका हेल्थ डेक्सबाट स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको बताउनुभयो । डा. अवस्थीले हालसम्म १२ हजार ३१६ जनाको परीक्षण गर्दा ६५६ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणको बढी जोखिम रहेका भारतका महाराष्ट्र, पञ्चाबलगायतका क्षेत्रबाट आउने नेपालीलाई बढी जोखिम रहेकाले त्यहाँबाट आउने नेपालीको परीक्षण गरेर मात्र नेपाल पठाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएकाहरु मध्ये गम्भिर विरामी नभएकाहरुलाई होम आइसोलेसन र क्वारेन्टाइनमा बस्ने सुझावसहित लक्षण देखिएका विरामीलाई विभिन्न जिल्लामा रहेका कोभिड अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

वैशाख लागेसँगै आउनेको संख्या झन् बढ्दै
पछिल्लो समय भारतमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको संख्या बढ्दै गइरहेका बेला भारतमा रोजगारीका लागि गएका नेपाली भने कोरोनाको त्रासले नेपाल आउने क्रम दैनिक बढ्दै गएको छ । वैशाख लागेसँगै विभिन्न नाका भएर उनीहरु नेपाल फर्किरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अम्मरबहादुर थापाले गड्डा चौकी र गौरीफन्टा नाकाबाट बैशाख १ र २ गते मात्र तीन हजार भन्दा बढी नेपाली स्वदेश फर्केको बताउनुभयो ।

तपाईको प्रतिक्रिया