कोभिडले खस्कायो पर्यटन आय : आम्दानी ९२ प्रतिशतले घट्यो

  बैशाख ०१, २०७८

काठमाडौँ, वैशाख १ : विदेशी पर्यटकबाट प्राप्त हुने आयमा ठूलो ह्रास आएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटक आगमन घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालले प्राप्त गर्ने आयमा देखिएको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिना अर्थात् फागुनसम्म पर्यटनबापतको नेपालको आय जम्मा चार अर्ब ४५ करोड रुपियाँ मात्र छ । गत आवको सोही अवधिको तुलनामा यो ९१.७ प्रतिशतले कम हो । गत फागुनमा नेपालले यस्तो शीर्षकमा ६० अर्ब ८८ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको थियो ।

कोरोना नियन्त्रणका लागि विश्वका विभिन्न देशले जारी गरेका मापदण्डका कारण विश्वभर नै पर्यटक आवागमन ठप्पजस्तै भएको थियो । नेपालले पनि विदेशी पर्यटकका लागि अनिवार्य सात दिनको क्वारेन्टाइनसहितको मापदण्ड लागू गरेको थियो । क्वारेन्टाइनको व्यवस्था केही खुकुलो भए पनि विदेशी पर्यटक नेपाल आउने अझै पनि सहज वातावरण भने तयार भइसकेको छैन ।

त्यस्तै नियमित किसिमका अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पनि विदेशी पर्यटक नेपाल आउन सकेका छैनन् । जसको प्रत्यक्ष असर पर्यटकबाट प्राप्त हुने आयमा देखिएको छ । राष्ट्र बैङ्ककै तथ्याङ्कअनुसार साउनयता ४२ हजार विदेशी पर्यटक नेपाल आएका छन् । विदेशी कूटनीतिक नियोगका कर्मचारी, विभिन्न आयोजनामा कार्यरत कर्मचारी पनि पर्यटककै रूपमा गणना हुने व्यवस्था रहेकाले नेपाल भित्रिएका सबै आफैँमा पर्यटक भने होइनन् ।

गत आवको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म सात लाख ७३ हजार विदेशी नेपाल भित्रिएका थिए । कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीपछिको अहिलेको अवस्थामा भने पर्यटक भित्रिने क्रममा केही सुधार आएको छ । विगत तीन महिनायता पर्यटक भित्रिने क्रम निरन्तर बढिरहेको तथ्याङ्कले देखाउँछ । मार्चमा मात्रै १५ हजार पर्यटक नेपाल भित्रिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

२२ अर्ब रुपियाँ बाहिरियो
नेपालबाट विदेश यात्रामा भने २२ अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ । राष्ट्र बैङ्कका अनुसार फागुनसम्म यात्रा शीर्षकमा २२ अर्ब ६१ करोड रुपियाँ नेपालबाट बाहिरिएको देखिन्छ । यो गत आवको तुलनामा ५४ प्रतिशतले कम हो । गत फागुनमा नेपालबाट ५३ अर्ब १३ करोड रुपियाँ बाहिरिएको तथ्याङ्कले देखाउँछ । गत वर्षको तुलनामा नेपालबाट बाहिरिने रकम घटे पनि सोही शीर्षकमा नेपाल भित्रने रकमको तुलनामा भने यो निकै अन्तर हो । यसअनुसार नेपाल भित्रनेभन्दा बाहिरिने रकममा १८ अर्ब रुपियाँको अन्तर देखिन्छ ।

तपाईको प्रतिक्रिया