फाल्गुनन्द विमानस्थलमा जहाज उडाउने तयारी

  बैशाख ०१, २०७८

इलाम, वैशाख १ : नयाँ वर्ष २०७८ सँगै इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी थालिएको छ । इलाम नगरपालिका–९, गोलाखर्कस्थित विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम सकिएसँगै जहाज उडान अवतरणको तयारी भइरहेको जनाइएको छ ।

विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको छ । यस्तै अस्थायी किसिमको टर्मिनल भवनसमेतको निर्माण गरिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनय भट्टराईले बताउनुभयो । “ठूला काम सकिएका छन्, पिचमा मार्किङ, साइड मिलाउने र रोड साइडमा डे«न बनाउन बाँकी छ,” भट्टराईले भन्नुभयो, “अब वैशाखभित्र उडाउने तयारी हो ।”

स्थायी टर्मिनल भवन, सुरक्षा गार्ड बस्ने स्थानलगायतका आवश्यक आधार क्रमशः निर्माण हुँदै जाने भट्टराईको भनाइ छ । यस विमानस्थलमा २०७५ जेठ २१ गते तारा एयरको जहाजले सफल परीक्षण उडान गरेको थियो । नौ करोड रुपियाँको लागतमा कालोपत्रेको काम हुँदै गरेको विमानस्थलका लागि अहिलेसम्म करिब २८ करोड रुपियाँ खर्च भइसकेको बताइएको छ । नौ करोड रुपियाँको ठेक्काभित्र डे«न र रिटेनिङ वालको काम भने बाँकी छ ।

३२८ रोपनीमा निर्माणाधीन विमानस्थलको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गर्नुभएको थियो । २०५८ सालमा यहाँ विमानस्थल निर्माण प्रक्रिया सुरु भएको थियो । विमानस्थल निर्माणका लागि जिल्लाबासी तथा तात्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका, गाविस र अन्य दाताले एक सयदेखि २० हजार रुपियाँसम्म सङ्कलन गरेर जग्गा व्यवस्थापन गरेका थिए ।

विज्ञहरूका अनुसार यो विमानस्थलमा ट्विनअटर र त्यससरहका विमान तथा एक हजार तीन सय मिटरको हवाई मैदानमा भने आउ–जाउ गर्न सक्ने एभ्रो विमान सजिलैसँग उड्न र अवतरण हुन सक्छन् । हवाई मैदानको काम सम्पन्न भएसँगै इलाम नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई गत चैत २३ गते पत्र पठाउँदै जहाज उडान अवतरणको काम सुरु गर्न आग्रह गरिसकेको छ ।

“धेरै काम सकिएका छन्, केही काम क्रमशः गर्दा हुने ढङ्गको रहेकाले तत्काल उडानको व्यवस्था मिलाउन मन्त्रालयलाई भनेका छौँ,” इलाम नगरपालिका प्रमुख महेश बस्नेतले भन्नुभयो, “संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समेत जहाज सञ्चालनका विषयमा पहल
गरिरहनुभएको छ ।”

इलाममा उडान सुरु भएपछि पहाडी जिल्ला भए पनि पाँचथर, ताप्लेजुङ, भारतको सिक्किम, दार्जिलिङसम्मका नागरिकका लागि इलाम–काठमाडौँको यात्रा सहज हुनेछ । जिल्लाको पर्यटन प्रवद्र्धन, आर्थिक क्षेत्रको प्रवद्र्धन र जिल्लाको समृद्धिका लागि यो विमानस्थल निर्माणपछि नयाँ सम्भावनाका ढोका खुल्ने अपेक्षा रहेको जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई उद्धृत गर्दे गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया