‘सुरक्षा खतराबाट मुलुक जोगाउनुपर्छ’

  बैशाख ०१, २०७८

काठमाडौँ, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताउनुभएको छ । राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘खुला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मानिस ?’’ हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मानिस के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘म्यान्मारका रोहिङ्ग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुला हो म्यान्मारसँग हो र ? विगतमा भुटानसँग थियो र ? ’’

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा खतराबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरू नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो खतरा भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकिरहनु पर्दैन आफैँ डढेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्वन्द्व फैलियो नभएको मतमतान्तर र द्वन्द्व बढ्न सक्छ ।’’

देशमा क्रान्ति र परिवर्तनको नाममा विगतमा उत्पात मच्चाएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपाङ्गता भएका कति विधवा र बेसहारा टुहुरा भए होलान् ?’’ ‘‘मान्छेहरू गाउँमा बस्न नसकेर सहर आए र काठमाडौँ आएपछि पनि लखेट्ने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रा युवाको १५ प्रतिशत देश बाहिर छ’’, उहाँले स्पष्ट पार्नुभयो ।

कुनै संस्थालाई ध्वस्त पार्न त्यहाँभित्र आन्तरिक वैमनस्य सिर्जना गर्नुपर्छ भनिने गरेको तर्फ औँल्याउँदै पार्टीहरूभित्र पनि आन्तरिक द्वन्द्वको स्थिति देखिनु राम्रो नभएको समेत चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जातीय राज्यका नाममा थुप्रै सलाईका काँटीहरू झोंसिए तर हामीले तत्काल घाँसपात समेत उखेल्ने गरी दमकम प्रयोग ग¥यौँ ।’’ प्रधानमन्त्री ओलीले अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो ।’’

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वका रूपमा व्याख्या गर्नुभयो । उहाँले तालिमले सुरक्षाका विविध पक्ष थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायबीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भूमिका खेलेको विश्वास व्यक्त गर्नुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया