नारायणी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

  चैत ३१, २०७७

वीरगञ्ज, चैत ३१ : वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मंगलबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा निवासी ३७ वर्षीय युवक र वीरगञ्ज महानगरपालिका नम्बर ३ छपकैया निवासी ६२ वर्षीय पुरुष रहेका छन् ।

ज्वरो र रुघाखोकीले ग्रस्त भएपछि चैत २६ मा वीरगञ्जको एड्भान्स मेडिकेयर हस्पिटल भर्ना भई उपचाररत ती युवकलाई ३० गते कोरोना पुष्टि भएपछि चैत ३० को मध्यराति नारायणी अस्पताल लगिएको थियो । उनी होलीको दुई दिनअघि भारतको हैदराबादबाट घर फर्किएका थिए ।

अर्का मृत्यु भएका पुरुष कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि आइतबार अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार कोरोना संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । वीरगञ्जका अधिकांश अस्पतालहरु कोरोनाको लक्षण रहेका बिरामीले भरिएकाले जोखिम बढेको उहाँले दाबी गर्नुभयो ।

पर्साका कोरोना संक्रमित मध्ये एकजनाको सोमबार भरतपुरमा मृत्यु भएको थियो । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

नर्सिङ क्याम्पसका २२ जना विद्यार्थी र कर्मचारीमा पनि संक्रमण
वीरगञ्जस्थित नारायणी अस्पतालमा साँझ आएको रिपोर्ट अनुसार पर्सामा ४० जनामा कोरोना संक्रमण देखिएको छ । ९५ जनाको नमूना स्वाब नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका ३७ र बाराका तीन जना गरी ४० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

वीरगञ्ज नर्सिङ क्याम्पसका मात्रै अहिलेसम्म २२ जनालाई संक्रमण पुष्टि भएको छ । यसअघि ३४ जनाको परीक्षण गर्दा १७ जना संक्रमित मध्ये नर्सिङ क्याम्पसका दुई जनामा संक्रमण भेटिएको थियो । त्यस्तै, ६० जनाको परीक्षण गर्दा २८ जना संक्रमित मध्ये वीरगञ्ज नर्सिङ क्याम्पसका पाँच जनामा संक्रमण देखिएको थियो ।

हिजो सोमबार गरिएको ९५ जनाको पीसीआर परीक्षण गर्दा भेटिएका ४० जना संक्रमितमा वीरगञ्ज नर्सिङ क्याम्पसका १३ जनामा संक्रमण पुष्टि भएको हो । यसरी तीन पटक आएको परीक्षण रिपोर्ट अनुसार वीरगञ्ज नर्सिङ कलेजको मात्रै २२ जना संक्रमित भएका हुन् ।

तपाईको प्रतिक्रिया