लिभरपुल विरुद्धको खेल अगाडि सर्जियो रामोस कोरोनाबाट सङ्क्रमित

  चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : रियल मड्रिडका कप्तान सर्जियो रामोस कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

रियल मड्रिडले च्याम्पियन्स लिगको सेकेण्ड लेगमा लिभरपुलको सामना गर्न तयार रहेको अवस्थामा कप्तान रामोस सङ्क्रमित भएर क्वारेन्टिनमा बस्नुपरेको हो ।

क्लबले कोरोनाभाइरसको नियमित परीक्षण गर्दा रामोसमा सङ्क्रमणको पुष्टि भएको हो । सङ्क्रमित भएपछि उहाँ दश दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

रियलका कप्तान सर्जियोले गत साता सम्पन्न पहिलो लेगमा समेत अनुपस्थित हुनुपरेको थियो । घाइते भएपछि उहाँ पहिलो लेग खेल्न पाउनुभएन ।

यद्यपि रियलले उहाँको अनुपस्थितिमै ३–१ को जित हात पारेको थियो । अन्तिम चारमा स्थान सुनिश्चित गर्न रियल मड्रिडले बुधबार एनफिल्डमा लिभरपुलको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया