नागढुङ्गा सुरुङमार्ग निर्माण तीव्र, १४ महिनाभित्र सम्पन्न हुने

  चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । यसअघि केही प्राविधिक कारणले सुरुङमार्ग खन्ने काममा प्रभाव परेको भए तापनि हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढेको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको उहाँले बताउनुभयो । सुरुङको चार ठाउँबाट खनिएको बताउँदै आगामी दिनमा खन्ने कामलाई बढाउँदै लगिने उहाँले बताउनुभयो । हाल सुरुङको १० प्रतिशत काम सम्पन्न भएकोमा चार सय मिटर खनिसकिएको छ ।

अवको १४ महिना भित्र अरु काम बाँकी रहे पनि सुरुङ खन्ने काम सम्पन्न हुने उहाँले बताउनुभयो । कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, विस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा कोरोना संक्रमण बढ्दै गए तापनि सुरुङमार्ग खन्ने काम नरोकिने विभागका उपमहानिर्देशक थापाले बताउनुभयो ।

हाल सुरुङमार्गमा तीन सय नेपाली र २५ जना जापानी प्राविधिक टोलीले काम गरिरहेका छन् । कोरोनाको कारण जापानी प्राविधिक टोली यसअघि आफ्नो घर फर्किएको भए तापनि हाल उहाँहरु नेपाल आइसकेकाले काममा कुनै वाधा नपुग्ने उहाँले बताउनुभयो । पूर्वनिर्धारित कार्यक्रम अनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन सकेको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाई २.५ किलोमिटर, चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ भने सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट दश मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया