पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ गतेबाट दाेस्राे चरणकाे खाेप लगाइने

  चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : माघमा पहिलो चरणमा कोरोना खोप लगाएकाहरुलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो मात्रा लगाइने जनाएको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार यो अभियान देशभर चलाइनेछ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ ।

सरकारले पहिलो चरणमा चार लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।

तपाईको प्रतिक्रिया