रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम

  चैत ३०, २०७७

सामान्य मान्छेको जीवनमा घट्ने प्रेम सम्बन्ध धेरैको लागि सामान्य विषय हो । तर यही प्रेम सम्बन्धको कुरा सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तिहरूमा भयो भने त्यसले विश्वभरि नै चर्चाको विषय बनाइदिन सक्छ । शुक्रबार बेलायतको बकिंघम दरबारमा फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो ।

राजपरिवारका सबैभन्दा उच्च अवस्थामा रहेका यी दम्पतीको बिचमा एउटा रोचक प्रेम कहानी जोडिएको छ । जुन संसारभरका मान्छेको लागि एउटा प्रेरणाको स्रोत बन्न सक्छ ।

विवाहको सात दशक नाघिसकेको छ । प्रिन्स फिलिप महत्वपूर्ण सार्वजनिक समारोहहरूमा धेरैतिर रानीको सहायकको रूपमा देखा पर्ने गर्दथे । तर व्यक्तिगत जीवनमा राजकुमार त्यस्ता व्यक्ति थिए जसले महारानीलाई सबैभन्दा राम्ररी चिन्थे ।

सानैदेखि राजपरिवारमा हुर्किएकी एलिजाबेथ र फिलिपबीच किशोरावस्थामा नै चिनजान भयो । एउटा साथीको सम्बन्ध बिस्तारै प्रेम सम्बन्धमा जोडिँदै गयो । अन्तमा यसले विवाहको रूप समेत लियो ।

रानीका एक निजी सचिवले एक पटक भनेका थिए, “प्रिन्स फिलिप जसरी आफ्ना कुराहरूबाट रानीलाई हसाउने गर्ने गर्थे । त्यसैगरी उनीहरूकोबीचमा एउटा गहिरो प्रेम सम्बन्ध पनि छ ।’

प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथको बिहे सन् १९४७ मा भएको थियो । उनीहरूले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सन् १९३९ मा डार्टमाउथ नेवल कलेजमा साथमा रहेको एउटा तस्वीरले उनीहरूको लामो समयदेखि चिनजान रहेको प्रमाण दिन्छ ।

किशरावस्थामा टेनिस र क्रोक खेल खेल्ने १८ वर्षे ड्याशिङ्ग क्याडेटमा १३ वर्षे राजकुमारी एलिजाबेथको ध्यान खिचियो । पहिलो भेटदेखि नै उनीहरू पहिले साथीको रूपमा सम्बन्धमा जोडएका थिए । समय विश्वयुद्धको थियो । फिलिप त्यतिबेला शाही सेनामा कार्यरत थिए । जुन दिन युद्ध हुन्थ्यो उक्त दिन दुवैले एक अर्कालाई चिठी लेख्ने गर्थे । बिस्तारै बिस्तारै उनीहरूबीच भेटघाट पनि सुरु भयो । त्यतिबेलै पनि राजकुमारी एलिजावेथ फिलिपको फोटो आफ्नो कोठामा राख्ने गर्थिन् ।

ग्रीसमा जन्मिएका प्रिन्स विविध कारणले आफ्नो देश छाड्न बाध्य पारिएका व्यक्ति थिए । उनी युरोपका विभिन्न मुलुकहरू हुँदै बेलायतसम्म आइपुगेका थिए । त्यतिबेलासम्म उनमा जीवन जिउनेभन्दा ठूलो महत्वाकांक्षा थिएन । उनी सानै उमेरदेखि भावनात्मक रूपमा बलिया व्यक्ति थिए । तर राजकुमारी भने फिलिपको दुनियाँभन्दा टाढाको संसारमा हुर्किएकी थिइन् । तर पनि रानी आफैँमा लजालु र समझदार स्वभावकी थिइन् । जसले फिलिपसँगको सम्बन्ध लामो समयसम्म उदाहरणीय रूपमा चल्यो ।

प्रेममा डुबेका जोडी

१९४७ मा एलिजावेथको २१ औं जन्मदिनको दिन दुवैबीच इन्गेजमेन्ट भएको थियो । यद्यपि प्रिन्स फिलिपले राजकुमारीप्रतिको प्रेम र आफ्नो इच्छा एक वर्ष पहिले नै जानकारी गराइसकेका थिए ।

आफ्नो विवाहको केही दिनअघि प्रिन्स फिलिपले आफ्नी आमालाई एउटा चिठी लेखेर एलिजाबेथसँगको सम्बन्धको बारेमा जानकारी दिएका थिए । उनले भनेका थिए “हामी कुनै शंकाविना नै पूर्ण प्रेममा डुबेका छौं।”

विवाहपछिको शाही जोडी

उनीहरू विवाहअघिसम्म अपेक्षाकृत रूपमा सामान्य जीवन बिताइरहेका थिए । एलिजाबेथ पनि शाही परिवारको भए पनि सामान्य रूपमा नै फिलिपसँग हिँडडुल गर्न मन पराउँथिन । एक फिल्म फुटेजमा उनीहरू एक अर्कासँग प्रेमील गफ गर्दै आराम गरिरहेको र दरवारीयापन छाडेर आनन्दको जीवन बिताइरहेको देख्न सकिन्थ्यो ।

राजा जर्ज छैठौं पछिको परिवर्तन

६ फेब्रुअरी १९५२ मा राजा जर्ज छैठौंको अकाल मृत्युसँगै सबै परिवर्तनहरू हुन थाले । महारानी एलिजाबेथ केवल २५ वर्षकी थिइन् । राजकुमार फिलिप ३० वर्षका थिए । उनलाई थाहा थियो कि राजकुमारी महारानी बन्नेछिन् तर आफ्नो जीवन अझ राम्रोसँग बिताउनको लागि उनीसँग अझै केही समय बाँकी थियो ।

तर जब एलिजाबेथ रानी बनिन् फिलिपको भूमिका बदलियो । अचानक जहाजलाई कमाण्डिङ्ग गर्ने व्यक्तिको भूमिकामा रहेका फिलिप महारानीको सहयोगी भूमिकामा पुगे । सन् १९५० को दशकमा कुनै पत्नीले आफ्नो लोग्नेभन्दा अगाडि सरेर भूमिका खेल्नु बेलायतमा पनि सहज भने थिएन । तर उनले एउटा कुशल सहायकको रूपमा काम गरिरहे । साथमा उनीहरूको व्यक्तिगत प्रेम जीवनमा पनि कमी आएन ।

उनीहरूको बीचमा जुन सम्बन्ध थियो ती दुई किसिमका थिए । सार्वजनिक जीवनमा उनीहरू रानी र सहयोगीको भूमिकामा थिए भने व्यक्तिगत जीवनमा श्रीमान् श्रीमती । दुईवटा भूमिकामा एउटै सम्बन्धलाई ढाल्नुपर्दा कस्तो समस्या परेको थियो, त्यो फरक कुरा रह्यो । तर प्रिन्स फिलिपले आफ्नो भूमिकालाई परिभाषित गर्न पनि समय निकाले र दुवैमा आफूलाई अब्बल बनाइरहे ।

सन् १९५६ मा उनी राष्ट्रमण्डलका देशहरूमा चार महिनासम्मको यात्रामा गए । सो समयमा एलिजाबेथ र उनीबीचको सम्बन्धका बारेमा धेरै चर्चाहरू पनि चले । धेरैले श्रीमतीप्रतिको उनको प्रेमको बारेमा प्रश्न पनि उठाए । तर जब उनी दरबार फर्किए मायामा कुनै कमी भएन । तिनै उदाहरणीय जोडी शुक्रबार सदाको लागि छुटेको छ ।

(बीबीसी/अनलाइनखबर)

तपाईको प्रतिक्रिया