‘स्रष्टा चैत्र–३०’ सम्मान धरावासी र भट्टराईलाई

  चैत ३०, २०७७

काठमाडौं, चैत ३० : यस वर्षको ‘स्रष्टा चैत्र–३०’ सम्मान साहित्यकारद्वय कृष्ण धरावासी र शार्दूल भट्टराईलाई दिइने भएको छ । २०६२-६३ को लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरुले दिएको योगदानको स्मरण गर्न स्थापित ‘स्रष्टा चैत्र–३०’ संस्थाका अध्यक्ष मनोज न्यौपानेको संयोजकत्वमा रहेको छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो ।

धरावासी लामो समयदेखि कथा, उपन्यास, निबन्ध आदि विधामा सक्रिय हुनुहुन्छ भने भट्टराई कविता, साहित्यिक पत्रकारिता, सम्पादन, अनुवाद आदि विधामा कार्यरत हुनुहुन्छ । उहाँहरु दुवैलाई गणतान्त्रिक आन्दोलनमा साहित्यिक क्षेत्रबाट गर्नुभएको योगदानका लागि सम्मान दिने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । ‘स्रष्टा चैत्र–३०’ को स्थापना विसं २०६४ मा कवि आरएम डङ्गोलको अध्यक्षतामा भएको थियो ।

हाल कोरोना जोखिम देखिएकाले घोषित पुरस्कारपछि अनुकूल समयमा वितरण गरिनेछ । उक्त आन्दोलनका क्रममा लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चको आयोजनामा २०६३ चैत २० गते पुरानो वानेश्वरस्थित आरोहण (गुरुकूल) मा साहित्यिक कार्यक्रम गरेर सडकमा कफ्र्यु तोड्न उत्रिएका स्रष्टाहरुलाई सुरक्षाकर्मीले दमन गरेको दिनलाई ‘स्रष्टा चैत्र–३०’ ले साहित्यिक आन्दोलनको उत्कर्षका दिनका रुपमा मनाउँदै आएको छ । आन्दोलनका क्रममा लोकतान्त्रिक साहित्यकार सङ्घ, नेपाली लेखक सङ्घ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नागार्जुन साहित्यिक प्रतिष्ठान, साहित्य सन्ध्यालगायत साहित्यिक गतिविधि सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया