चिसो घट्याे, छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माणले गतिलियाे

  चैत २९, २०७७

दार्चुला, चैत २९ : व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माण कार्य सुचारु भएको छ । गत मङ्सिरबाट रोकिएको भवन निर्माणको काम सुरु भएको हो । गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले शिलान्यास गरेको सशस्त्र प्रहरीको पक्की भवन निर्माण कार्य पुनः सुरु गरिएको निमार्ण व्यवसायीले जनाएको छ ।

माईनस १८ डिग्रीसम्म चिसोमा बस्ने मिल्ने गरी आधुनिक सुविधा सम्पन्न भवन निर्माणाधीन छ । यो वर्ष चिसोमै विताएका सशस्त्र प्रहरीलाई आगामी वर्ष भवनमा सार्ने गरी निर्माण कार्य सुरु गरिएको हो । अत्याधुनिक सुविधासहितको ४० कोठे भवनको निर्माणकार्यको लागि अहिले ४० जना बढि मजदुर खटिएका छन् ।

एक वर्षभित्रै भवन निर्माण सक्ने गरी कुल १० करोड रुपियाँ लागतमा भवन निर्माणको सम्झौता गरिएको छ । भवन शिलान्यास गरिएको दुई-तीन महिना भित्रै भुईतला निर्माण गर्ने बताएको निर्माण व्यवसायीले पछिल्लो पाँच महिना निर्माण कार्य रोकेको थियो । हिउँ पग्लिएर काम गर्ने वातावरण बनेसंगै छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई बाह्रैमास बस्न मिल्ने गरी भवन निर्माण कार्य अघि बढाएको छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भू–भाग अतिक्रमण गर्दै वर्षभरी बस्न सक्ने गरी सैन्य अखडा स्थापित गरेको छ । भारतीय सुरक्षाकर्मी बस्न सुविधासम्पन्न भवन र चिसो छल्न मिल्ने गरी हिटरको व्यवस्था गरिएको छ । तर नेपालका सुरक्षाकर्मी भने चिसो समयमा आगो तापेर ड्युटी गर्न बाध्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले जनाएको छ ।

पटक पटक हिमपात हुँदा सुरक्षाकर्मीले आगो तापेरै बस्नु परेको सुरक्षाकर्मी बताउँछन् । सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपछि पहिलो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई व्यासको छाङरुमा बाह्रैमास राखेपनि पुर्वाधार अभावमा समस्या कायमै रहेको छ ।

नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्ने निर्णय गरेको थियो । लगत्तै सरकारले नक्सा नै जारी गरेपछि असार २८ गतेको मन्त्रिपरिषद बैठकले व्यासमा बाह्रैमास सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको भवन निर्माणको लागि स्थानीयले छाङरुको गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका हुन् ।

भवन निर्माण भएपछि मात्रै सशस्त्र प्रहरीले आफ्नो कार्य क्षेत्रमा सहज रुपमा ड्युटी गर्न सक्ने अवस्था रहेको छ ।  पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढेसंगै सीमा अतिक्रमण र चोरी तस्करीका घटना नभएको दाबी गरिएको छ । 
छाङरुमा निर्माणाधीन सशस्त्र प्रहरीको भवन । तस्बिर ः लोकेन्द्र जोशी-दार्चुला ।

तपाईको प्रतिक्रिया