दोस्रो लहरको कोरोना संक्रमणको त्रास : सिकिस्त बिरामी बढ्दै

  चैत २८, २०७७

काठमाडौँ, चैत २८ : भारतमा कोरोना भाइरस संक्रमण बढ्नु र सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले नेपाल उच्च जोखिममा छ । दिनप्रतिदिन भारतमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गरेको तथ्यांकले देखाइरहेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमितको संख्या हो ।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेपालले पनि उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा कोरोना भाइरसका नयाँ भेरियन्ट झन् संक्रामक हुनुका साथै मृत्युदर बढाउन सक्ने बताउँछन् । डा. सुवेदीका अनुसार अब कोरोना संक्रमित कोही सिकिस्त भएमा अघिल्लो लहरभन्दा उपचार गर्न बढी कठिन हुने र मृत्युदर बढी देखिने सम्भावना ठूलो रहेको छ ।

उनले कोरोना संक्रमणको पहिलो लहरका बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएको र विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेसिस्टेन्ट (एन्टिबायोटिक थेग्न सक्ने, एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएको बताउँछन् ।

डा. सुवेदीले कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिहरूमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय बढी देखिएको वायु प्रदुषणले दीर्घरोगी तथा अरु सामान्य व्यक्तिहरुको श्वासप्रश्वास प्रणालीमा असर पारेको बताए । डा सुवेदी भन्छन्–‘ श्वासप्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागेमा थप जोखिम हुन्छ ।’

अस्पतालमा सिकिस्त बिरामीको संख्या बढ्यो
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलट्यान्ट डा. अनुप बाँस्तोलाले नेपालमा पनि कोरोनाको दोस्रो अध्याय सुरु भइसकेको बताउँदै पछिल्लो केही दिनमा अस्पतालमा सिकिस्त बिरामीको संख्या बढेको बताउँछन् ।

‘टेकु अस्पतालको आईसीयूमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दो छ । केही हप्ता यता संक्रमितको मृत्यु नभएपनि सिकिस्त बिरामीको चाप बढ्दै गएमा २–३ हप्ताभित्र मृत्युदर बढ्न सक्ने डा. बाँस्तोलाको भनाइ छ ।

डा.बाँस्तोलाका अनुसार विगत १० दिन यता कोरोनाका सिकिस्त बिरामीको संख्या बढिरहेका छन् । उनले सिकिस्त संक्रमितमध्ये चैत महिनामा ५० वर्ष मुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा पाइएको बताए । उनका अनुसार यो तथ्यांक अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो ।

यूके भेरियेन्ट बढी संक्रामक र मृत्युदर उच्च रहेको अध्ययनहरुले देखाएका छन् । पछिल्ला दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका कोरोना परीक्षणमा ‘एस जिन नेगेटिभ’ को संख्या बढी देखिएको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ता बताउँछन् । उनका अनुसार यो नतिजाले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) हुन सक्ने धेरै सम्भावना हुन्छ । गुप्ता भन्छन् –‘हामीले अब छिट्टै नै नेपालमा पनि जिन स्क्विेन्सिङ सुरु गर्ने तयारीमा छौं । भैरहवा नाकामा मेसिन आइसकेको छ । करिब १ हप्तामा आइपुग्छ होला ।’

अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा देखिएका कुनै पनि कोरोनाका नयाँ भेरियन्ट सजिलैसँग भित्रिने सक्ने बताउँछन् । भन्छन् –‘नेपालमै पनि नयाँ भेरियन्ट बन्दै होला । बहुभेरियन्ट हुन सक्छन् । आवातजावत जति हुने हो त्यति नै तीव्र फैलिने हो । जे भएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । ’

डा. बाँस्तोला भन्छन्–‘ सिकिस्त संक्रमितको संख्या बढिरहेको छ । समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ । समुदायमा कोरोना भाइरसको दोस्रो छाल आइसकेको पुष्टि गर्छ ।’ उनले जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेकाले सुरक्षा मापदण्डको पालनामा हेलचेकर्‍याइँ नगर्न अनुरोध गरेका छन् ।

डा.बाँस्तोलाले पहिलो लहरमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएको बताउँछन् । उनी भन्छन्–‘सानोभन्दा सानो पनि लापरबाही नगरौं । लक्षण देखिनासाथ परीक्षण गरौं । ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरेको छ । शनिबारसम्म बेलैहया हेल्थ डेस्क, रुपन्देहीमा ४१ वटा परीक्षणमा १ वटा पोजिटिभ केस भेटिएको छ । इनरुवा हेल्थ डेस्क, पर्सामा गरिएको ८२ परीक्षणमा २ वटा पोजिटिभ केश भेटिएको छ भने जमुनाहा हेल्थ डेस्क, बाँकेमा ९७ परीक्षणमा ६ वटा पोजिटिभ केश फेला परेका छन् । कृष्णनगर हेल्थ डेस्क, कपिलवस्तुमा ५४ परीक्षणमा भने कुनै पनि पोजिटिभ केश भेटिएका छैनन् । सबैभन्दा बढी त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ५ हजार ९६६ परीक्षणमा २९४ केश भेटिएका छन् भने गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा १ हजार ३१८ परीक्षणमा २१ पोजिटिभ केश फेला परेको देखिन्छ ।

तथ्यांक हेर्दा विभिन्न नाकामा गरिएको ७ हजार ५६६ परीक्षणमा ३२४ एन्टिजेन परीक्षण पोजिटिभ भेटिएका छन् । महेन्द्रनगरस्थित महकाली अञ्चल अस्पतालका सूचना अधिकारी नारद भट्टका अनुसार सीमा नाकाबाट आउने मानिसको चाप निकै बढेको अवस्था छ । भट्ट भन्छन्,‘आइसोलेसनको लागि अहिले पर्याप्त मात्रामा व्यवस्थापन भइसकेको छैन, त्यसैले सबै केश हाम्रै अस्पतालमा आइरहेका छन् । बिरामी पनि बढ्दै गएको संख्या छ । दैनिक ७ देखि १२ जनासम्म आउने गरेका छन् । चाप देख्दा एक दुई दिनमा गाह्रो अवस्था आउन सक्ने हामीले विश्लेषण गरेका छौँ,’ उनले भने ।

वीरगञ्जको नारायणी अस्पतालमा पनि संक्रमित थपिदै गएको देखिन्छ । अस्पतालका अनुसार संक्रमित हुनेमा धेरैजसो बालबालिका र युवा उमेर समूहका बढी छन् ।

दैनिक ४ हजार हाराहारीको पीसीआर परीक्षण भइरहेको नेपालमा पछिल्लो २४ घण्टामा ३३७ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय कोरोनाका लक्षणहरु जटिल देखिएका बताए । उनका अनुसार अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । उनले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको डा. गौतमले बताए । मन्त्रालयले छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शंकास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तीव्रता दिएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया