एएफसी कप २०२१ छनोट : महामारी छिचोल्दै आर्मी

  चैत २६, २०७७

काठमाडौं, चैत २६ : फिफा वरीयतामा श्रीलंकाभन्दा माथि नेपाल भएकाले त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ छनोटको पहिलो चरणमा घरेलु मैदानमै खेल्ने अवसर पायो । पाँच महिना बढी तयारीले पनि आर्मी उत्साही थियो । तर, दशरथ रंगशालामा ओर्लनु अघिल्लो दिन चार खेलाडीसहित टिमका ६ सदस्यलाई कोभिड–१९ पोजेटिभ भएपछि आर्मी संकटमा पर्‍यो ।

एसियाली फुटबल महासंघ (एएफसी) को नियमानुसार आर्मीले बिहान खेलाडीसहित टिमका सबैको कोभिड–१९ परीक्षण गराएको थियो । त्यसको रिपोर्ट बेलुकी ६ बजेतिर आयो, जतिबेला आर्मी अन्तिम ट्रेनिङका लागि तयार भइसकेको थियो । अनुभवी फरवार्ड भरत खवास, जर्जप्रिन्स कार्की, गोलकिपर विकेश कुथु, विंगर टेकबहादुर बुढाथोकी, फिजियो आविष्कार पुडासैनी र टिम म्यानेजर विकास मल्ललाई कोरोना पोजेटिभ देखिएको थियो । तुरुन्तै फेरि परीक्षण गरेर उनीहरूलाई आइसोलेसनमा पठाइयो । यसपल्ट राति ११ बजेतिर आएको रिपोर्टमा भरत, विकास र टेकको रिपोर्टमा कोरोना नेगेटिभ पाइयो ।

कोभिड–१९ को पहिलो परीक्षणको रिपोर्टपछि नै आर्मीका प्रशिक्षक नवीन न्यौपाने तनावमा थिए । दोस्रो परीक्षणबाट पनि पहिलो रोजाइका दुई खेलाडी गुमाउनुपरेपछि उनलाई खेलमै ध्यान केन्द्रित हुन गाह्रो भयो । ‘पहिलो रिपोर्टमा ६ जनालाई पोजेटिभ देखाउँदा त अत्यास नै लाग्यो । के गर्ने, कसो गर्ने निकै तनाव भयो,’ प्रशिक्षक न्यौपानेले भने, ‘दोस्रो रिपोर्टले केही हल्का त भयो तर महामारीले सिर्जना गरेको तनावले खेलमै फोकस हुन गाह्रो भयो ।’ उनले दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ पाइएका गोलकिपर विकेश, फरवार्ड जर्जप्रिन्स र फिजियो आविष्कारलाई गुमाए ।

महामारीको त्रासबीच दशरथ रंगशालामा बुधबार श्रीलंका पुलिसमाथि सहज जित निकाल्दै आर्मीले राहत महसुस गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाएर आर्मीले श्रीलंका पुलिसमाथि ५–१ को जित रच्यो । यसले प्रशिक्षक न्यौपाने र आर्मी टिमलाई ठूलै राहत दियो । अब आर्मीले छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग (आईएसएल) क्लब बेंगलुरु एफसीविरुद्ध वैशाख १ मा बाम्बोलिन रंगशाला, गोवामा प्रतिस्पर्धा गर्नेछ ।

नवयुगको दुई गोल
आर्मीले सुरुबाटै आक्रामक खेल पस्कियो । उसले पाहुना टिमको गोलपोस्टमा निरन्तर प्रहार गर्‍यो । कप्तान भरत खवासले ११ औं मिनेटमा गोलकिपर दिनेश महेन्द्रनलाई उछिन्द्र कठिन कोणबाट प्रहार गरेको बल डिफेन्डर निकोलसले गोललाइनबाट क्लियर गरिदिए । काउन्टरमा इभान्सले २८ औं मिनेटमा राम्रो फिनिसिङ देखाउँदै श्रीलंका पुलिसलाई अग्रता दिलाए । त्यो नै पाहुना टिमको पहिलो आक्रामण थियो ।

पछाडि परे पनि आर्मीले आक्रामक शैली कायमै राख्यो र समयमै गोल पनि फर्कायो । मिडफिल्डर सन्तोष तामाङले ४१ औं मिनेटमा करिब २५ यार्डबाट ‘हाफ भली’मार्फत् दर्शनीय गोल गर्दै आर्मीलाई १–१ मा पुर्‍याए । कर्नरमा श्रीलंकन डिफेन्सले राम्रोसँग क्लियर नगरेको बललाई उनले जाली चुमाएका थिए । त्यसको दुई मिनेट नबित्दै भरतको क्रसमा नवयुग श्रेष्ठले हेडद्वारा गोल गर्दै आर्मीलाई २–१ ले अघि बढाए ।

दोस्रो हाफमा पनि आर्मीले गोलको लागि धेरैबेर कुर्नुपरेन । नवयुगको क्रसमा गोलकिपरको बचाउ फितलो रहेपछि ‘सिक्स यार्ड बक्स’बाट टंक बस्नेतले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए । फेरि एकपल्ट गोलकिपर दिनेशले गल्ती गर्न पुगे । यसपालि ८३ औं मिनेटको गोल गरे सुदील राईले । उनी टंकको स्थान लिँदै ६३ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । तीन मिनेट इन्ज्युरी समयको अन्तिम क्षणमा नवयुगले फस्ट बारमै प्रहार गरेको बलले पनि जाली चुम्यो र आर्मीले ५–१ को जित निकाल्यो ।

इन्ज्युरी समयमा सुदीलले प्रहार गरेको बल बारमा लागेर फर्केको थियो भने श्रीलंका पुलिसका इभान्सले ७६ औं मिनेटमा हानेको बलमा पनि पोस्ट बाधक बन्यो । श्रीलंकन टिमले अरु गतिलो प्रहार गर्न सकेन र उसकै पेनाल्टी क्षेत्रवरिपरि खेल केन्द्रित थियो । कप्तान भरत भने सहज तीन अवसरमा चुके । अरू दुई अवसर नवयुगले पनि गोलमा बदल्न सकेनन् ।

‘थ्री नेसन्स कप विजेता नेपाली टिमको खुसी कायम राख्ने लक्ष्य थियो, जसलाई खेलाडीले पूरा गरिदिए,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘श्रीलंकन टिमले काउन्टरमा राम्रो गोल गर्‍यो । तर, हाम्रा खेलाडीले धैर्यपूर्वक खेले । समयमै गोल गर्‍यो । राम्रो गोल गर्‍यो । पाएका थप अवसर उपयोग गरेको भए अन्तर अझै ठूलो हुने थियो ।’

उनको कोभिड–१९ पोजेटिभ देखिएका गोलकिपर विकेशको स्थानमा विश्वास चौधरीलाई खेलाएका थिए । गत साता किर्गिस्तान यू–२३ विरुद्ध गोलरहित भएको मैत्रीपूर्ण खेलमा पनि आर्मीको पोस्ट विश्वासले सम्हालेका थिए । उनको खेलबारे प्रशिक्षक न्यौपानेले भने, ‘उनले राम्रो खेले । गोल खाएपछि केही दबाबमा देखिए पनि सन्तुलित खेल प्रदर्शन गरे ।’ सोचेजस्तो फिटनेसमा समस्या नभएको पनि उनले बताए । छोटो तयारीले पनि हुनसक्छ, घानाका तीन खेलाडी उतारेको श्रीलंका पुलिस भने फिटनेसमै संघर्षरत देखिन्थ्यो ।

प्रतिस्पर्धी बेंगलुरु
नेपाल पुलिस क्लब (तत्कालीन महेन्द्र पुलिस क्लब) ले सन् २००७ को एएफसी प्रेसिडेन्ट कपको समूह चरणमा कम्बोडियाको खेमरालाई ६–४ ले हराएको थियो । लाहोरको त्यो खेलयता नेपाली क्लबले एएफसीको प्रतियोगितामा सबैभन्दा बढी गोल गर्दै त्रिभुवन आर्मीले ५–१ को जित हात पारेको हो । त्यो बेला एसियाली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगितामा महेन्द्र पुलिस उपविजेता भएको थियो । प्रेसिडेन्ट कप ६ वर्षअघि नै बन्द भइसकेको छ । एएफसी क्लब फुटबलमा चलिरहेका छन् च्याम्पियन्स लिग र एएफसी कप ।

त्रिभुवन आर्मीको लागि एएफसी कप २०२१ को छनोट नै निक्कै कठिन छ । उसले छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग २०१९–२० मा तेस्रो भएको बेंगलुरुको सामना गर्नेछ । सुनील क्षत्रीको कप्तानीमा रहेको भारतीय टिमलाई पराजित गर्नसके आर्मी तेस्रो चरण अर्थात् अन्तिम प्ले–अफमा पुग्नेछ, जहाँ बंगलादेशको असहनी लिमिटेडविरुद्ध माल्दिभ्सको इगल्सको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बुधबार भएको अर्को खेलमा थिम्पू सिटीलाई २–० ले हराएर इगल्स छनोटको दोस्रो चरण पुगेको हो ।

‘बेंगलुरु धेरै राम्रो टिम हो,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘बेंगलुरुविरुद्ध यति (श्रीलंका पुसिविरुद्धको खेल) ले पुग्दैन । फिनिसिङमा अहिलेजस्तै भयो भने हामीलाई धेरै गाह्रो हुनेछ । त्यसैले ट्रेनिङमा स्कोरिङमा फोकस गर्नेछौं । यसमा देखिएको कमजोरीलाई बेंगलुरुविरुद्ध सच्याउने प्रयास गर्नेछौं ।’ उनले घाइते रहेका सुमन अर्याल र टेकबहादुर बुढाथोकी पनि वैशाख १ मा गोवामा हुने खेलका लागि फिट हुने विश्वास व्यक्त गरेको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया