१६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

  चैत २६, २०७७

काठमाडौं, चैत २६ : सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएका छन् । तीमध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी जलविद्युत्, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले सेयर निष्कासन गर्नेछन् । मैलुङ खोला जलविद्युत्ले भने सर्वसाधारणका नाममा सेयर निष्कासन गर्नेछ ।

जलविद्युत्बाहेक अन्य तीन कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति मागेका छन् । पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ३८ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् ।

सेयर निष्कासनका लागि आवेदन दिएका संस्था जोड्दा ५० हाराहारी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् ।

निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये तिनै कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ । जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नॅपर्छ । लकडाउनअघि सेयर बजारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण कम थियो । यही कारण लामो समय डेढ दर्जनभन्दा बढी जलविद्युत् कम्पनीको सेयर अंकित मूल्य १ सयभन्दा कम थियो । तर लकडाउनपछि खुलेको बजारमा परिस्थिति बदलिएको छ । अरू कम्पनीको तुलनामा जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।

यही कारण सेयर मूल्य धेरै बढ्ने कम्पनीमा अधिकांश जलविद्युत् नै छन् । सेयर मूल्य धेरै कम भएको समयमा जलविद्युत् समूहका कम्पनीमा लगानी गरेका लगानीकर्ताले अहिले राम्रो मुनाफा आर्जन गर्न सफल भएको राखिएको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया