कोरोनाका कारण चलचित्रका दर्शक घट्दै, प्रदर्शन मिति सार्न थालियो

  चैत २५, २०७७

काठमाडौँ, चैत २५ : छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै नेपालको चलचित्र क्षेत्रमा पनि यसको प्रभाव परेको छ ।

सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले सभा, सम्मेलन, भेला जस्ता कार्यक्रम नगर्न आग्रह गरेपछि चलचित्र हलमा फेरि दर्शक पातलिन थालेका छन् जसका कारण प्रदर्शन मिति घोषणा गरिएकाले पनि सारिरहेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षमा दर्शकको राम्रो उपस्थिति हुने सम्भावना थियो तर कोरोनाको दोस्रो लहरले धेरै असर परेको बताउनुभयो ।

निर्मातालाई पनि डर हुन्छ उहाँले भन्नुभयो, चलचित्र प्रदर्शन गरी नचल्नुभन्दा त अलि पछि नै प्रदर्शन गर्दा फाइदा हुन्छ ।

सरकारले चलचित्र हलमा लगाएको ५० प्रतिशत अकुपेन्सीको बन्देज नहटाए पनि चैत २७ गतेलाई तीन चलचित्र ‘कृष्ण लीला, लप्पन छप्पन २ र मनसँग मन’ ले प्रदर्शन मिति घोषणा गरेका थिए । तर सङ्क्रमण बढ्न थालेपछि अब यो मितिमा तीनै फिल्म प्रदर्शनमा नआउने भएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि तीनै चलचित्रको प्रदर्शनले अनिश्चितकालका लागि सारेको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्नुभयो, चलचित्र निर्माताले करोडौँको लगानीमा कुनै पनि खतरा उठाउन सक्दैनौँ । त्यसैलै रिलिज स्थगित गर्नुको विकल्प छैन ।

उपत्यकाबाहिर हल नखुल्ने अवस्था भएकाले पनि प्रदर्शन रोक्नुपरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाका कारण फेरि बन्दाबन्दीको हल्ला छ त्यसका कारण हलमा दर्शक आउने नआउने टुङ्गो छैन ।

बलिउड चलचित्र पनि सरेको स-यै छन् । त्यसैले तत्काल रिलिज गर्नु करोडौँको लगानीमाथि खतरा उठाउनु मात्र हो । अब स्थिति सामान्य नभएसम्म पर्खिन्छौँ ।’

नयाँ वर्ष चलचित्र प्रदर्शन उपयुक्त समय मानिन्छ । हरेक नेपाली ‘न्यू इयर’ चलचित्र हलमा दर्शकको चाप बढ्ने विश्वास फिल्मकर्मीमा हुन्छन् ।

नयाँ वर्षमा प्रदर्शनी भएका चलचित्रलाई दर्शकले धेरै माया गर्ने गरेका छन् तर कोरोनाको डरले दर्शकका पाउन निकै कठिन रहेको अधिकारीको भनाइ छ ।

उहाँले नयाँ वर्षमा चलचित्र प्रदर्शनको चाप निकै हुने अनुभव ब्यक्त गर्दे अहिले कोरोनाको डरले सबै निर्माताहरु पछि सरेको जानकारी दिनुभयो । । नयाँ वर्षमा सिनेमा हल सुनसान हुने देखिने भएको उहाँको गुनासो छ ।

’कृष्ण लीला’ नामक चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले कोभिड १९ को बन्दको हल्लाले नै चलचित्रको प्रदर्शनी मिति स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।

अहिले माहोल बनिसकेको छैन उहाँले भन्नुभयो, चैत २७ रिलिज हुने नेपाली चलचित्रहरुले पनि प्रदर्शन मिति सारिसकेका छन् । सबै कुरा सामान्य भएपछि मात्र प्रदर्शन मिति तय गरिने कट्टेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया