जापानमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी

  चैत २२, २०७७

काठमाडौँ, चैत २१ : जापानको कोबे शहरको सागा ग्यालरीमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा जापानका १५ जना कलाकारको समेत सहभागिता छ । ‘आर्ट विदाउट बोर्डर–५’ शृङ्खला अन्तर्गत आयोजित ‘आर्ट इज हार्ट’ शीर्षक प्रदर्शनीमा नेपाली कलाकारका चित्रकलालाई ‘स्क्रिन’ प्रदर्शनी गरिनेछ ।

कलाकार डा.आस्था प्रभा तुलधारले विश्वमा शान्ति, मैत्री र करुणा फैलाउने एक माध्यमका रुपमा रहेको कला प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताले नेपाली कला प्रवर्धनमा सहयोग पुर्याउने बताउनुभयो । जापानमा नेपाली कला प्रदर्शनीको चाँजोपाँजो डा. तुलाधरले संयोजन गर्नुभएको हो ।
महिलाका लागि महिला नेपाल र सासाबुने तथा हानेचुजुरीको संयुक्त आयोजनामा शुक्रबारबाट सुरु भएको प्रदर्शनी चैत २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कलाकार डा. तुलाधरले कोबेमा संयुक्त प्रदर्शनी गर्नुको उद्देश्यबारे चर्चा गर्नुहुँदै भन्नुभयो, “कोबे शहर एक प्रतीक हो । हान्शिन आवजी भूकम्प आएर यो शहरको जनजीवन कठिन भएको थियो । त्यस्तै, नेपालमा भूकम्प गएको पनि छ वर्ष बितिसकेको छ । अप्रिल महिनामा यस प्रदर्शनी कोबे शहरमा आयोजना गर्नुको पछाडि अर्थ, कठिन समयमा पनि धैर्य गरी एकजुट भई कदम चाल्नुपर्छ भन्ने सन्देश पनि लुकेको छ ।”

तपाईको प्रतिक्रिया