बाँकेको नरैनापुरमा आगलागी, ११५ घर जले, ३ जना घाइते

  चैत २१, २०७७

नेपालगन्ज, चैत २१ : बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो ।

‘केटाकेटीहरू गोठमा खेलिरहेको अवस्थामा आगो सल्किएर घरसम्म पुगेको रैछ,’ स्थानीय चादे खाँले भने, ‘फुसको घर आगोमा कहाँ टिक्थ्यो र ? सबै घर सखापै बनायो ।’ यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ । नरैनापुरमा यो नयाँ घटना भने होइन ।

गत फागुन २४ मा नरैनापुर–१ सुइयामा २४ घरगोठ जलेका थिए । चैत १२ मा वडा–२ र गत मंगलबार वडा–६ मा ४/४ वटा घर आगोले खरानी बनायो । फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए । ‘एकै ठाउँमा जोडिएका खरका घरहरूमा आगलागीको जोखिम बढी हुन्छ,’ ज्ञवालीले भने, ‘आगो बालेर अन्यन्त्र जाँदा आगलागीका धेरै घटना घटेको देखिन्छ ।’ विपद्पछि राहत बाँड्न स्थानीय तह अग्रसर भए पनि पूर्वतयारी नगर्दा समस्या दोहोरिरहने उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले सानो हेलचेक्र्याइँले ठूलो क्षति भएको बताए । ‘क्षतिको विवरण संकलन गरिरहेका छौं, राहत पनि बाँड्न थालिसकेका छौं,’ उनले भने । उनका अनुसार गाउँपालिकाले यस वर्ष विपद् व्यवस्थापनका लागि १ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।

नरैनापुर गाउँपालिका लामो समयदेखि आगलागीको चपेटामा पर्ने गरेकाले यसको निराकरणका लागि छलफल गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘रेस्पोन्स छिटो भएकाले कुनै मानवीय क्षति भएन,’ उनले भने, ‘सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया