हानिकारक हुनसक्छ बालबालिकाको मेकअप

  चैत १९, २०७७

काठमाडौंँ, चैत १९ : छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन ? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिकजसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ ।

पार्वती कार्की टिकटककी पारखी हुनुहुन्छ । उहाँले बन्दाबन्दीको समयमा आफ्नो आठ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘‘मेकअप गर्दा आफैँले प्रयोग गर्ने सौन्दर्य सामग्री छोरीलाई पनि प्रयोग गर्ने गर्थें । केही दिनपछि त छोरीको अनुहारभरि रातो–रातो बिमिरा आउन थाल्यो । यसले समस्या देखिन थाल्यो ।’’ यता कर्म श्रेष्ठको समस्या पनि उस्तै छ । ‘‘छोरीको तस्बिर खिचेर चाडपर्वमा शृङ्गार गरियो अहिले विद्यालय पनि बिनामेकअप जान मान्दिनन्’’ श्रेष्ठ थप्नुहुन्छ– ‘‘बिनामेकअप नराम्रो देखिन्छ र साथीहरूले नराम्रो भन्छन् भनेर कहीँ पनि जान मान्दिनन् । बिनामेकअप त आत्मविश्वास नै हराएको अनुभव हुन्छ ।’’

छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार छाला, कपाल र नङका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन्छन् । सबैभन्दा हानिकारक नङ र रौँका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन् । ‘नङ र रौँमा प्रयोग गरिने सौन्दर्य सामग्रीमा छालालाई हानि गर्ने रासायनिक तìवहरू मिसाइएको हुन्छ । डा. कर्ण भन्नुहुन्छ, ‘‘जसका कारण नेल पलिस र हेयर कलर लगाउँदा धेरैलाई एलर्जी हुन्छ । झन् यस्ता सौन्दर्य सामग्री बालबालिकाको हकमा त झनै हानिकारक हुन्छ ।’’ ओठमा लगाउने लिपिस्टिकमा पनि कडा केमिकल प्रयोग गरिने भएकाले यसको प्रयोगबाट बच्चालाई टाढा राख्नुपर्ने उहाँले बताउनुभयो ।

जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीको अर्थमा यो अभिभावकको महामूर्खता हो । बालबालिकालाई मात्र नभएर ‘कस्मेटिक्स’ कसैका लागि पनि लाभदायक नभएको उहाँ बताउनुहुन्छ । बालिकालाई अनुहारमा गोरो बनाइने क्रिम, ओठमा रङ्गीचङ्गी लिपिस्टिक, गालामा टिलिक्क टल्किने रोज, आँखामा बजारिया गाजल लगाइदिनु भनेको उनीहरूको भविष्य अन्धकारमा धकेल्नु हो ।

जाडो मौसममा बच्चाको अनुहार फुट्छ भनेर अनेक किसिमका क्रिम लगाइदिनु गलत भएको जानकारी दिँदै उहाँले क्रिमभन्दा तोरी, जैतुन, बदाम र नरिवलको तेल लगाउँदा राम्रो हुने जानकारी दिनुभयो । बालिका छिट्टै परिपक्व हुँदै गएको उल्लेख गर्दै डा. उप्रेती भन्नुहुन्छ– ‘‘पहिला १४-१५ वर्षको उमेरमा डन्डिफोर आउने भए पनि अहिले ९-१० वर्षकै उमेरमा धेरैलाई डन्डिफोर र अन्य छालाका समस्या देखिने गरेको छ । संसारको जस्तोसुकै राम्रो ब्रान्डको क्रिम भने पनि त्यसमा विषाक्त तìव मिसिएको हुन्छ ,’’ गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया