रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानमा ढिलाइ

  फागुन २२, २०७७

रसुवा, फागुन २२ : जिल्लाको गोसाइँकुण्ड गाउँपालिका टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ । जडानको जिम्मा लिएका इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इन्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक काम छाडेर उपकरण जडानको कार्य ठप्प भएको हो ।

उपकरण जडान छिटो सम्पन्न गराउन सो कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । भूमिगत संरचनाको विद्यत् गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथ इन्डियाले ढिलासुस्ती गरेका कारण ढिलाइ भएको हो ।

भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्यत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ देखि निर्माण कार्य सरु भएको थियो । रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरुङ तयार भइसके पनि उपकरण जडानको ढिलासुस्तीले आयोजना पूरा हुनेमा समस्या देखिएको छ । प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फान्सिस टर्बाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इन्डियाले कोभिड–१९ का कारण दर्शाउँदै आलटाल गर्दै आइरहेको छ ।

सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लइले द्रुत गतिमा बढाए पनि उपकारण जडानमा समस्या भएको छ । आगामी २०७९ जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नुपर्ने कार्यतालिका तयार भएको आयोजनाका प्रमुख छवि गैरेले बताउनुभयो ।

विद्यत् गृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ । कर्मचारी सञ्चय कोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८५ प्रतिशत प्रगति पूरा गरिसकेको समेत आयोजना प्रमुख गैरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया