मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्कियो चन्द समूह

  फागुन २२, २०७७

काठमाडौँ, फागुन २१ : सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत रूपमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शुक्रबार मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । संसदीय व्यवस्थाप्रति विमति राखेर ‘एकीकृत जनक्रान्ति’ भन्दै भूमिगत आन्दोलन गर्दै आएको नेकपाले वैज्ञानिक समाजवादसहितको जनगणतन्त्र शान्तिपूर्ण रूपमै जनतामा गएर स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहमा सरकार र चन्द समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिमा दुई पक्षबीच देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, चन्द समूहले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, जेलमा रहेका उसका नेता–कार्यकर्ता रिहा, गतिविधिमा प्रतिबन्ध फुकुवा र मुद्दा खारेज गर्ने सहमति भएको हो । सबैको चासो रहेको चन्द समूहसँग भएका भनिएका हतियारबारे भने सहमतिपत्र मौन छ । सहमतिपत्रपछिको सम्बोधनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव चन्दले यसबारे केही उल्लेख गरेनन् ।

सहमतिपत्रमा उल्लेख नभएका कतिपय विषयमा विवाद देखिए वार्ता र संवादबाटै समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओली र महासचिव चन्दको उपस्थितिमा दुवै पक्षका वार्ता टोलीले सहमतिपत्रमा हस्ताक्षर गरेपछि चन्दले सम्बोधन गर्दै आफूहरू वैज्ञानिक समाजवादका निम्ति शान्तिपूर्ण रूपमै जनतासम्म जाने प्रतिबद्धता जनाएका थिए । उनले यसका लागि सहमतिपत्र ऐतिहासिक भएको पनि बताए । दुई वर्षयता एकअर्काविरुद्ध आक्रामक बनेका ओली र चन्द शुक्रबार भने निकै खुसी देखिन्थे । उनीहरूले अर्काको प्रशंसामा पनि समय खर्चिए ।

मञ्चमा मुखामुख गर्दा पनि दुई नेताको मुहारमा मुस्कान देखिन्थ्यो । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषद्को २ वर्ष अघिको वार्षिक प्रतिवेदनमा चन्द समूहलाई आतंककारी र विध्वंसकारी उल्लेख गरिएको थियो । त्यसपछि पनि ओली र चन्दका अभिव्यक्ति निकै आक्रामक थिए । शुक्रबार भने ओलीले चन्दलाई निर्णय क्षमता भएको नेताको विशेषण दिए । चन्दले सरकारकै पहलबाट आफूहरू तीनबुँदे सहमतिमा आउन सफल भएको टिप्पणी गरे ।

हस्ताक्षरअघि प्रधानमन्त्री ओली र महासचिव चन्दबीच बालुवाटारमा अनौपचारिक कुराकानी भएको थियो । अनौपचारिक संवाद, वार्ता टोली गठनपछिका पहल र त्यसबाट प्राप्त उपलब्धिबारे उनीहरूले बालुवाटारमा केही घण्टा अनौपचारिक समीक्षा गरेका थिए । राष्ट्रिय सभागृहमा सहमतिपत्र सार्वजनिक गर्न २ बजेका लागि तय गरिएको कार्यक्रम ओली र चन्दबीच बालुवाटारमा भएको छलफलका कारण करिब पौने घण्टा ढिलो सुरु भएको थियो ।

चन्द शुक्रबार बिहानै पूर्वी नवलपरासीबाट स्थलमार्ग हुँदै काठमाडौं आएका थिए । दुई वर्ष भूमिगत भएका चन्द नवलपरासीमा नेता–कार्यकर्तासँगै सार्वजनिक भएका थिए । अनौपचारिक पोसाकमा देखिएका चन्द सभागृहमा भने कालो सुटपाइन्ट र निधारमा रातो टीका लगाएर आएका थिए । सभागृह हल प्रवेश गरेपछि उनका समर्थक र कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । हलमा कार्यक्रम भइरहँदा बाहिर सादा र फौजी पोसाकमा सुरक्षाकर्मी बाक्लै तैनाथ गरिएको थियो । प्रहरी र सशस्त्रको दुई लाइनको घेरा सभागृहको प्रवेशद्वारबाट सभा हलको ढोकासम्म थियो ।

चन्दले तीनबुँदे सहमतिलाई दृढतापूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यो सहमति केवल सरकार र नेकपाको कुरा होइन, पार्टीको कुरा मात्रै होइन । केही नेताको कुरा पनि होइन ।

सहमतिको पछाडि योभित्र लुकेको महान् आकांक्षा छ,’ चन्दले सम्बोधनका क्रममा भने, ‘देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना योभित्र छ, योभित्र देशमा दीर्घशान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा र युवाभित्र हुर्किएको समृद्ध जीवनको चाहना छ ।’

चन्दले यसो भनेपछि सभाहलमा उपस्थित चन्द समूहका नेता–कार्यकर्ताले ताली बजाएका थिए । उनले ओली नेतृत्वको सरकारसँगको सहमतिलाई इंगित गर्दै दुई धारबीच जुन र घाम जस्तो सम्बन्ध भए पनि भेट भएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री ओलीले चन्दले एउटै निर्णयबाट जनताको मन जितेको भन्दै प्रशंसा गरे । खुला राजनीतिको परिवेश र शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा आएका भन्दै प्रत्रधानमन्त्री ओलीले उनलाई ‘स्वागत छ’ भनेका थिए । चन्दपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत छ, मलाई विश्वास छ, यस राजनीतिमा विप्लव (चन्द) जीलाई पौडी खेल्न आउँछ ।’ २ वर्षअघि सीके राउतलाई मूलधारको राजनीतिमा अवतरण गराउँदा पनि प्रधानमन्त्री ओलीले राउतलाई निर्णय गर्न सक्ने क्षमता भएको नेता भनेका थिए । तर त्यसबेला उनले चन्द समूहप्रति आक्रामक अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा तीनबुँदे निर्णय साहसिक कदम भन्दै यसबाट चन्दले जनताको मन जितेको बताए । ‘यसका लागि म विप्लवजीलाई धन्यवाद दिन चाहन्छु । उहाँले एउटै कदमबाट नेपाली जनताको मन जितिसक्नुभयो, यो साहसिक कदम हो । जोसुकैले एउटा कार्यदिशा, एउटा बाटोमा हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोड्न सक्तैन तर उहाँले सफलतापूर्वक मोड्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो फोर्सल्यान्डिङ होइन, क्र्यासल्यान्डिङ पनि होइन, यो सेफल्यान्डिङ हो ।’

चन्दले दुःख नपाएका र मृत्युको मुख नजिक नपुगेर फर्किएका नेता नभएको भन्दै भूमिगत अवधिमा आफूले पाएका कष्टबारे संकेत गर्न खोजेका थिए । ‘दुःख नपाउने कम्युनिस्ट नेता छैनन् । मृत्युको नजिक नपुगेर फर्किएका नेता पनि छैनन् । हामीसँग सबैभन्दा कठिनसमय र कठिन खालका परिस्थिति नझेलेको कोही पनि छैनन्,’ उनले भने, ‘हामी यो परिवेशमा छौं । हामी विश्वास दिलाउँछौं कि, हामी जे सपना देखेर कम्युनिस्ट आन्दोलनमा लाग्यौं । हामी बलिदानी र सहिदको सपनालाई मर्न दिँदैनौं ।’

एकअर्कालाई सिध्याउने बाटोमा रहेका शक्तिबीचको मिलनलाई चन्दले घाम र जुनको जस्तो सम्बन्धमा पनि मिलन भएको भनी एउटा गीत स्मरण गर्दै भनेका थिए, ‘यो कस्तो प्रेम भयो, जुन र घाम जस्तो कहिले भेट नहुने, तर जुन र घामको पनि भेट हुन्छ ।’ चन्दले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनताबाट फैसला हुनुपर्ने बताए । ‘के तपाईं दलाल पुँजीपति वर्गको चक्रमा सधैं हिँड्नुपर्ने नियति हो ? नेपाली जनताले स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने ? कहिलेकाहीँ राज्यले चाल्न खोज्दा नहुने परिस्थति त बन्यो नि,’ उनले भने, ‘जनताले त सोच्ने कुरै छैन, सोच्न पाउने कुरै छैन । यसको अन्त्य गर्न एकचोटि त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ । यसका लागि हामी सबैलाई आग्रह गर्न चाहन्छौं ।’

चन्दले प्रधानमन्त्रीसँग विगतमा पनि कुरा भएको खुलासा गरे । ‘यो अगाडि पनि इमानदारीपूर्वक प्रधानमन्त्रीसँग कुरा भएको थियो । मैले (धारणा) राखेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस्, हामी कसैलाई चिढाएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले पनि १० वर्षदेखि नै चन्दसँग आफ्नो संवाद र कुराकानी भएको बताए । ‘वर्षौंदेखि वार्ता चलिरहेको थियो, हामीले नंग्रा बजाएर वार्ता गरेनौं । वार्ता गम्भीरताका साथ गर्‍यौं । मेरो उहाँप्रतिको विश्वास र मप्रति उहाँहरूको विश्वास सायद त्यसै समयदेखि, त्यसै वार्तादेखि मजबुद हुँदै आएको थियो । त्यो आज यस ठाउँमा आइपुगेको छ,’ उनले भने । भविष्यमा दुई दलबीच एकतासमेत हुने गरी अघि बढ्ने सम्भावना सुनिन थालेका बेला प्रधानमन्त्री ओलीले भने, ‘यो प्रक्रिया, सिलसिला हो, हामी एउटै उद्देश्यमा छौं । हामी एकताबद्ध भएर नेपाललाई समृद्धतर्फ अघि बढाउँछौं ।’

चन्दले सहमतिलाई आशंका र कुतर्क नगर्न सबैसँग आग्रह गरेका छन् । ‘तीनबुँदेलाई हामी पालना गर्छौं । यसलाई हामी दृढतापूर्वक मान्छौं,’ उनले भने, ‘हामीलाई के लागेको छ भने नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको छ । लामो प्रक्रियामा यहाँसम्म आउँदाखेरि सामाजिक रूपान्तरण, राज्यको रूपान्तरण र जीवनको रूपान्तरण पुगेको छैन ।’ ओलीले अब मुलुकमा कुनै द्वन्द्व बाँकी नरहेको बताए । ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’

यी हुन् तीनबुँदे सहमति

  • दुवै पक्ष, नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं ।
  • नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।
  • नेपाल सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।

हतियारबारे कांग्रेसले उठायो प्रश्न

सहमति स्वागतयोग्य भए पनि हतियारको विषय सम्बोधन नभएको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सहमतिलाई स्वागत, २०२८ सालमा केपी–सीपी, २०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड रेडबुक, नाम र काम उस्तै, परिणाम उस्तै, नेपालको कम्युनिस्ट आन्दोलन आजको मितिमा केवल एक प्रश्न–कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन र कमरेडहरू,’ इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया